काठमाडौं।

नेवाः समुदायको राष्ट्रिय छाता संगठन नेवाः देय् दबूमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ। महिला अधिकार तथा आदिवासी जनजाति आन्दोलनमा सक्रिय रश्मिला प्रजापति संगठनको आठौँ केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी छन्।
राजधानीमा आइतबार सम्पन्न महाधिवेशनले प्रजापतिलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो। देशका ६८ जिल्लामा शाखा विस्तार गरिसकेको देय् दबूले विगत तीन दशकदेखि भाषा, संस्कृति तथा समुदायको अधिकारका लागि काम गर्दै आएको छ।
करिब डेढ दशकदेखि संगठनमा सक्रिय प्रजापति यसअघि उपाध्यक्ष पदमा कार्यरत थिइन्। उनी नेवाः मिसा दबूकी संस्थापक अध्यक्षसमेत हुन्। महिला नेतृत्व विकास र सशक्तीकरणमा निरन्तर सक्रिय रहँदै आएकी उनले आफ्नो उम्मेदवारीलाई सोही अभियानको परिपक्व रूपका रूपमा व्याख्या गरेकी छन्।
संघीय संरचना अनुसार केन्द्रदेखि वडा तहसम्म संगठन विस्तार भइसकेको उल्लेख गर्दै उनले अब देय् दबूलाई अझ चलायमान, प्रभावकारी र रूपान्तरणमुखी बनाउने प्रतिबद्धता व्यक्त गरिन्। महिला सशक्तीकरणलाई संगठनको समग्र हितसँग जोड्दै अघि बढाउने उनको योजना रहेको छ।
नवनिर्वाचित अध्यक्ष प्रजापतिले नेवाः समुदायको सामाजिक तथा आर्थिक सशक्तीकरणसँगै संगठनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाउने लक्ष्य पनि अघि सारेकी छन्। नेपाल भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्दै आर्थिक विकासमा योगदान पुर्याउने उनको प्रतिबद्धता छ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सत्यनारायण डंगोल, उपाध्यक्ष (महिला) मा सिता श्रेष्ठ, उपाध्यक्ष (कोशी) मा नरेशकुमार शाक्य, (मधेश) मा दक्षनारायण श्रेष्ठ, (बागमती) मा शान्त श्रेष्ठ, (गण्डकी) मा हरिकुमार श्रेष्ठ, (लुम्बिनी) मा बिजुला जोशी, (कर्णाली) मा खग्रेन्द्रबहादुर श्रेष्ठ, (सुदूरपश्चिम) मा ऋषिकेश श्रेष्ठ र (काठमाडौं उपत्यका) मा उमेश स्थापित निर्वाचित भएका छन्।
त्यस्तै, महासचिवमा श्रीकृष्ण श्रेष्ठ र उपमहासचिवमा वाशु श्रेष्ठ निर्वाचित भएका छन्।
