सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : तथ्यमा आधारित रिपोर्टिङमार्फत जनचेतना आवश्यक

काठमाडौं । संस्कृति तथा सम्पदा संरक्षणका लागि पत्रकारहरूले तथ्यमा आधारित रिपोर्टिङ गर्दै व्यापक जनचेतना फैलाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौं महानगरपालिकासँग सहकार्य गरी हनुमानढोका दरबार क्षेत्रअन्तर्गत बिहीबार राजधानीमा आयोजना गरेको ‘सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रमका वक्ताहरूले सम्पदामा भइरहेको अतिक्रमण, संरक्षणमा देखिएको ढिलासुस्ती तथा लापरवाहीमाथि पत्रकारहरूले निरन्तर निगरानी राख्दै सम्बन्धित निकायलाई जिम्मेवार बनाउन पत्रकारिताको ‘वाचडग’ भूमिकालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले सम्पदा संरक्षणका लागि स्थानीय तह, सञ्चारमाध्यम र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए । काठमाडौं उपत्यकाको मौलिक पहिचान जोगाउन सञ्चार क्षेत्रले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

गुठी संस्थानका पूर्व प्रशासक किरण शाक्यले गुठी प्रणालीलाई सम्पदा संरक्षणको मेरुदण्डका रूपमा उल्लेख गर्दै पत्रकारहरूले यससँग सम्बन्धित विषयमा गहिरो अध्ययनसहित तथ्यपरक सामग्री प्रस्तुत गर्नुपर्ने धारणा राखे ।

संस्कृतिकर्मी जितेन्द्रविलास बज्राचार्यले मातृभाषामार्फत पत्रकारिता र डिजिटल माध्यमको प्रयोग संस्कृति तथा सम्पदा संरक्षणका लागि प्रभावकारी हुने बताए । उनले सांस्कृतिक सम्पदाको मौलिकता जोगाउन सञ्चारमाध्यमले सही व्याख्या र सन्दर्भसहित सामग्री प्रकाशन गर्नुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले नीतिगत सुधारका लागि बहस सिर्जना गर्ने, विज्ञ तथा सरोकारवालाको आवाज नीति निर्माण तहसम्म पुर्‍याउने तथा लोपोन्मुख संस्कृतिको संरक्षणमा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने बताए ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेवाः पत्रकारहरूको भूमिका केवल समाचार सम्प्रेषणमा सीमित नभई स्थानीय पहिचान, भाषा र मौलिक ज्ञानको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको बताए । उनले नेपालभाषामार्फत लोपोन्मुख परम्परा, कथा, गुठी प्रणाली तथा संस्कारहरूको दस्तावेजीकरणमा मातृभाषा पत्रकारिताको विशेष योगदान रहेको उल्लेख गरे ।

निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकारहरूले सम्पदा, भाषा र संस्कृतिसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको बताए । वरिष्ठ पत्रकार विराजकाजी राजोपाध्यायले संस्कृति तथा सम्पदासम्बन्धी रिपोर्टिङका लागि अध्ययन र सन्तुलित प्रस्तुतिको आवश्यकता औंल्याए ।

कार्यक्रममा दबूका उपाध्यक्ष सुनील महर्जन, महासचिव के.के. मानन्धर र सचिव राजु नापितले पत्रकारिताको प्रवर्द्धन, नागरिक पत्रकारिता, तालिम, स्रोत–साधनको उपलब्धता तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले संस्कृति तथा सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका अझ प्रभावकारी बनाउन निरन्तर संवाद, अध्ययन तथा सहकार्य आवश्यक रहेको निष्कर्ष समेत निकाले । 

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

९औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ सुरु, महिला उद्यमशीलता प्रवर्द्धनमा जोड

महिला नेतृत्वको नयाँ अध्याय : नेवाः देय् दबूमा पहिलोपटक महिला अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts