९औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ सुरु, महिला उद्यमशीलता प्रवर्द्धनमा जोड

काठमाडौं । नेपालभरका महिला उद्यमीहरूको प्रतिनिधित्व गर्ने छाता संस्था महिला उद्यमी महासंघ नेपाल (FWEAN) ले ९औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गरेको छ । विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवर्द्धनमा सक्रिय महासंघले महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरण र प्रवर्द्धनका लागि १७ वर्षदेखि निरन्तर रूपमा व्यापार मेला सञ्चालन गर्दै आएको छ ।

महिला उद्यमीहरूको सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको महासंघले यस वर्ष पनि उक्त उद्देश्यलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गरेको हो ।

मेलाको उद्घाटन २०८२ साल चैत्र २० गते सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्नुभएको थियो । उद्घाटन समारोहमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, साझेदार संस्था, प्रायोजक संस्था, देशभरबाट आएका महिला उद्यमी तथा अवलोकनकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

महासंघका अध्यक्ष दर्शना श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रथम उपाध्यक्ष तथा मेला संयोजक सुनीता वैद्य श्रेष्ठले मेलाको उद्देश्य तथा कार्यक्रमबारे जानकारी दिनुभएको थियो । त्यस्तै, द्वितीय उपाध्यक्ष तथा प्रकाशन संयोजक बासन्ती प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै यसतर्फ सरोकारवालाहरूको ध्यानाकर्षण गराउनुभएको थियो ।

चैत्र २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने यस मेलामा नेपालका विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीहरूको सहभागिता रहेको छ । मेलामा महिला उद्यमीहरूलाई आफ्ना मौलिक तथा रैथाने उत्पादनको प्रदर्शन, बजार विस्तार, नेटवर्किङ तथा व्यापारिक सहकार्यको अवसर प्रदान गरिएको आयोजकले जनाएको छ ।

मेलामा कुल १४० वटा स्टलहरू रहेका छन् । प्रदर्शनीमा प्राकृतिक रेसाजन्य वस्तु, ढाकाका सामान, गलैचा, हाते कागजका सामग्री, जैविक खाद्य पदार्थ, रैथाने खानाका परिकार, कृषिजन्य उत्पादन, जडिबुटी, मूर्ति, गरगहना तथा सजावटका सामग्रीहरू आकर्षक रूपमा प्रदर्शनीमा राखिएका छन् ।

मेलाको आकर्षणका रूपमा विभिन्न जिल्लाका सफल महिला उद्यमीहरूलाई सम्मान गर्ने कार्यक्रम, हस्तकलाको प्रत्यक्ष अवलोकन, दैनिक कार्यशाला तथा गोष्ठी, डिजिटल मार्केटिङ, B2B तथा B2C नेटवर्किङ कार्यक्रमहरू सञ्चालन गरिएका छन् । साथै अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको सहभागिताले अनुभव आदानप्रदान तथा व्यापारिक सञ्जाल विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मेलाको अवसरमा चैत्र ११ गते “Unlocking Nepal’s Natural Fiber Economy” शीर्षकमा प्यानल छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्राकृतिक फाइबरमा सम्भावना, चुनौती, लगानी तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारबारे छलफल गरिएको थियो ।

त्यस्तै, “Fiber to Fashion” शीर्षकमा र्याम्प वाक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अल्लो, हेम्प, लोक्ता, ढाका लगायत नेपाली प्राकृतिक फाइबरबाट बनेका उत्पादनहरू प्रस्तुत गरिएको थियो । यी उत्पादनहरूलाई पहिचान, दिगोपन र महिला सशक्तिकरणको प्रतीकका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

मेलाको अवसरमा “Enterprising Women Nepal” नामक पुस्तकको १४औं संस्करण पनि लोकार्पण गरिएको छ । प्रतिनिधि सभाका सांसदहरू बसुमाया तामाङ, गंगा छन्त्याल, नितीमा कार्की र समीक्षा सिंखडाले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो । पुस्तकमा महिला उद्यमीहरूको प्रेरणादायी यात्रा र सफलताका कथाहरू समेटिएका छन् ।

त्यसैगरी मधेश प्रदेश सिरहा जिल्लाकी निर्मला महतोलाई सफल महिला उद्यमी र भवानी राणालाई नेतृत्वदायी महिला उद्यमीको रूपमा सम्मान गरिएको छ ।

मेलाको आयोजनाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, वर्ल्ड बैंक, GIZ, UN Women लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन् ।

महिला उद्यमी महासंघ नेपालले मेलाको सफल आयोजनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण निकाय तथा व्यक्तिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

ललितपुर । नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको रुपमा परिचित कार्तिक नाच लाई समेटेर विशेष हुलाक टिकट प्रकाशित गरिएको छ।

सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : तथ्यमा आधारित रिपोर्टिङमार्फत जनचेतना आवश्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts