काठमाडौं । प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाह नेतृत्वको भावी सरकारलाई मुलुकको द्रुततर विकास र जनताको विश्वासलाई सार्थक बनाउन अधिवक्ता पुष्परत्न शाक्यले १३ बुँदे रचनात्मक सुझाव सार्वजनिक गर्नुभएको छ ।

अधिवक्ता शाक्यले नयाँ राजनीतिक अध्यायको सुरुवात भएको उल्लेख गर्दै जनताले यसपटक भावनात्मक गठबन्धनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ऐतिहासिक जनादेश दिएको बताउनुभयो । उहाँले उक्त जनादेशलाई अवसरका रूपमा लिएर शान्त, संयमित र विवेकशील ढंगले शासन सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
उहाँले सरकार गठन मात्र नभई पाँच वर्षे कार्यकालभरि पार्टी तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । काठमाडौं महानगरपालिकाको मेयरबाट प्रधानमन्त्री बन्ने ऐतिहासिक अवसर प्राप्त भएकाले शाहका हरेक निर्णय संवेदनशील र परिणाममुखी हुनुपर्ने उहाँको भनाइ छ ।
अधिवक्ता शाक्यले अनावश्यक खर्च कटौती, प्रदेश संरचना पुनरावलोकन, मन्त्रालय संख्या घटाउने तथा सांसदहरूलाई मन्त्री नबनाई देश निर्माणमा परिचालन गर्न सुझाव दिनुभएको छ । साथै मन्त्री नियुक्तिमा बाहिरबाट प्रतिष्ठित र विज्ञ व्यक्तिहरूलाई समावेश गर्नुपर्ने उहाँको धारणा छ ।
त्यस्तै संवैधानिक निकायमा राजनीतिक भागबण्डा नगरी योग्य व्यक्तिको नियुक्ति गर्नुपर्ने, सहकारी ठगीबाट पीडित नागरिकको रकम १०० दिनभित्र असुल गर्नुपर्ने, प्रहरी प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गरी जनमैत्री बनाउनुपर्ने सुझाव पनि उहाँले दिनुभएको छ ।
जलबिद्युत, सडक, रेलमार्ग, कृषि, पर्यटन, ऊर्जा तथा उद्योग क्षेत्रमा भ्रष्टाचाररहित दीर्घकालीन योजना लागू गर्नुपर्ने, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।
त्यसैगरी विदेशिएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्ने, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा वृद्धि गर्ने तथा न्याय प्रणालीलाई डिजिटल माध्यमबाट छिटोछरितो बनाउनुपर्ने सुझाव पनि उहाँले दिनुभएको छ ।
प्रवासी नेपाली (एनआरएन) लाई नेपालमा लगानी गर्न आकर्षित गर्ने वातावरण तयार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
अधिवक्ता पुष्परत्न शाक्यले प्रधानमन्त्री बन्न लागेका शाह नेतृत्वको सरकारबाट जनताले ठूलो आशा र भरोसा राखेको उल्लेख गर्दै यी सुझावहरू कार्यान्वयन भए मुलुकले द्रुत विकासको मार्ग समात्ने विश्वास व्यक्त गर्नुभएको छ ।
