काठमाडौं — वडामै भूमि प्रशासन सेवा: महानगर र मालपोतबीच सम्झौता

काठमाडौँ महानगरपालिकाले भूमि प्रशासन सम्बन्धी सेवा नागरिककै नजिक पुर्‍याउने उद्देश्यसहित मालपोत कार्यालय (चावहिल, डिल्लीबजार र कलंकी) सँग सम्झौता गरेको छ।

सम्झौताअनुसार नमूनाका रूपमा महानगरका वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन गरिनेछ। यस पहलले अब नागरिकले धेरैजसो भूमि सम्बन्धी काम आफ्नै वडा कार्यालयबाटै गर्न सक्ने भएका छन्।

महानगरपालिकाले यसअघि चारकिल्ला शिफारिस, घरबाटो शिफारिस जस्ता सेवा प्रदान गर्दै आएको थियो। नयाँ व्यवस्था लागू भएपछि भने भूमिको स्वामित्व तथा हक सम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा शिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा पनि वडाबाटै उपलब्ध हुनेछन्।

यससँगै नागरिक परामर्श तथा गुनासो सहजीकरण सेवा पनि वडामै प्रदान गरिनेछ। सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाटै संकलन गर्ने व्यवस्था मिलाइएको छ भने सेवाग्राहीको पहिचान सुनिश्चित गर्न बायोमेट्रिक विवरण संकलन गरिनेछ।

त्यस्तै, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा आवश्यक शिफारिस तथा अभिलेख व्यवस्थापनको काम पनि वडा स्तरबाटै हुने व्यवस्था गरिएको छ।

यो कदमले सेवाग्राहीको समय, खर्च र झन्झट कम गर्ने अपेक्षा गरिएको छ भने सेवा प्रवाहलाई अझ प्रभावकारी र पारदर्शी बनाउने लक्ष्य महानगरले लिएको छ।

More From Author

प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाहलाई अधिवक्ता पुष्परत्न शाक्यका १३ बुँदे सुझाव

पाँच दिने अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी एड्भान्स तालिम तथा टिओटी कार्यक्रम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *