ललितपुर महानगरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सुरु

ललितपुर ः ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ। दक्षिण कोरियाको चेओरवन शहरको आर्थिक सहयोगमा महानगरपालिका–२७ मा “छहारी कृषि एकल महिला फार्म” सञ्चालनमा ल्याइएको हो।

फार्म सञ्चालनसम्बन्धी समझदारीपत्र हस्ताक्षर कार्यक्रममा महानगरपालिकाले उक्त फार्म छहारी एकल महिला समूहले सञ्चालन गर्ने जानकारी दिएको छ। ललितपुर महानगरपालिका र चेओरवन शहरबीच दुई वर्षअघि भगिनी सम्बन्ध कायम भएको थियो। सोही सम्बन्ध अन्तर्गत असल अभ्यास आदान–प्रदान कार्यक्रममार्फत कोरियन प्रविधिमा आधारित कृषि फार्म निर्माणका लागि चेओरवन शहरले सहयोग गरेको हो।

करिब सात रोपनी क्षेत्रफलमा निर्माण गरिएको उक्त फार्मका लागि जग्गा पाँच वर्षका लागि लिजमा लिइएको छ। मौसमअनुसार विभिन्न बिउबिजन रोपण गरी कृषि उत्पादन गरिने छहारी कृषि एकल महिला समूहले जनाएको छ।

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले कृषि फार्म निर्माण भगिनी सम्बन्ध कायम भएका दुई शहरबीचको असल अभ्यास आदान–प्रदानको उत्कृष्ट उदाहरण भएको बताए। उनले महानगरले कृषि उत्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै कृषि क्षेत्रको महत्व बुझाउन तथा महिला र युवालाई प्रोत्साहन गर्न यस्तो फार्म स्थापना गरिएको बताए। साथै, उनले चेओरवन शहरमा ललितपुरको कला र संस्कृति झल्कने फल्चा (पाटी) निर्माणका लागि महानगर इच्छुक रहेको र प्रक्रिया अघि बढाइने बताए।

चेओरवन शहरका मेयर ली ह्युन जोनले मितेरी शहरमा कोरियन प्रविधिसहितको कृषि फार्म निर्माणमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे। उनले आफ्नो शहरमा ललितपुरको कला र कौशल झल्कने फल्चा निर्माण गर्न उत्साहित रहेको बताउँदै आवश्यक प्रक्रिया अघि बढाउने बताए।

नेपालका लागि कोरियाली राजदूत पार्क तेडयोङले उक्त कृषि फार्मले नेपाल–कोरिया सम्बन्ध अझ मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

वडा नं. २७ का वडा अध्यक्ष कृष्णहरि महर्जनले चेओरवन शहर र त्यहाँका नागरिकप्रति आभार व्यक्त गर्दै कृषिलाई युवा, महिला तथा एकल महिलासँग जोडेर उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए।

छहारी एकल महिला समूहकी अध्यक्ष सविता महर्जनले कृषि उत्पादनमा आत्मनिर्भरता अत्यावश्यक रहेको बताइन्। उनले एकल महिलालाई कमजोर रूपमा प्रस्तुत गर्ने प्रवृत्तिलाई चुनौती दिन समूहमार्फत कृषि फार्म सञ्चालन गरिएको उल्लेख गर्दै युवालाई कृषिमा जोडेर उत्पादन बढाउनु आवश्यक रहेको बताइन्।

More From Author

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पुनः बस्ने

प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाहलाई अधिवक्ता पुष्परत्न शाक्यका १३ बुँदे सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *