ललितपुर, १० चैत ।
पूर्वमन्त्री गणेश शाह ले पानी मानिसको जीवनसँग मात्र नभई खुसी र समृद्धिसँग पनि प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यसको उचित तथा वैज्ञानिक उपयोगमार्फत राष्ट्रको समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ।

Smart Was Solution द्वारा विश्व पानी दिवस २०२६ को अवसरमा सोमबार (मार्च २३) ललितपुरमा आयोजित एक कार्यशालामा मन्तव्य राख्दै उहाँले नेपाल पानीको स्रोतमा धनी राष्ट्र भए पनि यसको पर्याप्त र प्रभावकारी उपयोग हुन नसकेको धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “नेपालमा पानी पर्याप्त छ, तर हामीले प्राविधिक रूपमा यसको सही उपयोग गर्न सकेका छैनौं। पानीको उपयोग र पहुँचलाई सहज बनाउँदै मानिसको खुसी र समृद्धिको सूचक बढाउनतर्फ ध्यान दिन आवश्यक छ। पानीको व्यवस्थापन वैज्ञानिक ढंगले गर्नु आजको आवश्यकता हो।”
कार्यक्रममा उहाँले लैङ्गिक समानता, खाद्य सुरक्षा र आर्थिक समृद्धिसँग जोडेर पानीको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै दिगो विकास लक्ष्य हासिल गर्न सरकार, निजी क्षेत्र तथा सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

त्यस्तै, जल तथा ऊर्जा आयोगका सिनियर डिभिजन इन्जिनियर कपिल ज्ञवाली ले पानीको पहुँच र उपयोगबारे जनचेतना अभिवृद्धि गर्न संघ, प्रदेश र स्थानीय सरकारले स्पष्ट कार्ययोजना बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, विशेष गरी महिला र किशोरीहरूको जीवनस्तर सुधारमा पानी व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्नेछ।
कार्यक्रममा रामदेव शाह ले नेपालमा करिब २९ प्रतिशत जनसंख्यामा मात्रै स्वच्छ तथा गुणस्तरीय खानेपानीको पहुँच रहेको तथ्य प्रस्तुत गर्दै यसले महिला र किशोरीहरूको स्वास्थ्य, दैनिक जीवन तथा आर्थिक अवस्थामाथि नकारात्मक असर पारेको बताउनुभयो।

सन् World Water Day १९९३ देखि हरेक वर्ष मार्च २२ मा मनाइँदै आएको छ। यस वर्ष “पानी तथा लैङ्गिक समानता” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ।
कार्यशालामा पानीको दिगो व्यवस्थापन, समावेशी पहुँच विस्तार तथा लैङ्गिक दृष्टिकोणलाई समेटेर नीति निर्माण गर्नुपर्ने विषयमा सहभागीहरूले जोड दिएका थिए।
