ललितपुर, चैत ८


ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित होसना इट्टाभट्टामा काम गर्ने क्रममा भट्टाको वाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आज बिहान करिब १०:१० बजे भएको उक्त दुर्घटनामा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको उपचारका क्रममा १०:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनी घाइते भएपछि तत्काल गोदावरी नगरपालिका–१४ ठैबस्थित मिडसिटी अस्पतालमा पुर्याइएको थियो।


दुर्घटनामा रुकुमकी २७ वर्षीया जानकी चन्द गम्भीर घाइते भएकी छन्। उनको दुवै हात, खुट्टा र टाउकोमा चोट लागेको छ भने बोल्न नसक्ने अवस्थामा रहेकी उनलाई थप उपचारका लागि मोडल अस्पतालमा रिफर गरिएको छ।




त्यस्तै, सल्यानकी २७ वर्षीया शान्ती कुवर, रोल्पाकी ४६ वर्षीया नन्द कुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल मध्यम घाइते भएका छन्। उनीहरूका दुवै खुट्टा तथा हातमा चोट लागेको भए पनि बोल्न सक्ने अवस्थामा रहेका छन्।


घटनाको जानकारी पाएलगत्तै वृत्त सातदोबाटोबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३२ जना प्रहरी टोली खटिएको थियो। दुर्घटनास्थल प्रहरी प्रभाग हरिसिद्धीबाट करिब १.५ किलोमिटर पूर्वतर्फ पर्छ।


प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
