२०८२ असार मसान्तसम्म ३२ हजार ९ सय ६५ सहकारी, १ करोड ९ लाखभन्दा बढी नागरिक आबद्ध

काठमाडौँ । २०८२ असार मसान्तसम्म नेपालमा सहकारी संस्थाको संख्या ३२ हजार ९ सय ६५ पुगेको छ। यीमध्ये संघीय नियमन अन्तर्गत १ सय ४७, प्रदेश नियमन अन्तर्गत ७ हजार ५ सय ९९ र स्थानीय तह अन्तर्गत २५ हजार २ सय १९ सहकारी संस्था सञ्चालनमा रहेका छन्।

कुल जनसंख्याको करिब ३७.४० प्रतिशत अर्थात् १ करोड ९ लाख ५ हजार १ सय ९२ नागरिक सहकारीमा आबद्ध भएका छन्। यसले सहकारी क्षेत्र नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित हुँदै गएको संकेत गर्दछ।

सहकारी संस्थाहरूको वित्तीय अवस्था पनि उल्लेखनीय देखिएको छ। हालसम्म सहकारीहरूमा कुल सेयर पूँजी १ खर्ब ४३ अर्ब २९ करोड ४३ लाख २६ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यस्तै, बचत संकलन ११ खर्ब २५ अर्ब २८ करोड ४३ लाख ५८ हजार ४ सय ७० रुपैयाँ रहेको छ भने ऋण लगानी ९ खर्ब २३ अर्ब ७४ करोड ५७ लाख ८५ हजार ५ सय ६३ रुपैयाँ पुगेको छ।

रोजगारी सिर्जनातर्फ पनि सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ। देशभरका सहकारी संस्थाहरूले ९० हजार २ सय ६५ जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएका छन्।

वित्तीय पहुँच विस्तार, साना उद्यम प्रवर्द्धन, कृषक तथा महिला सशक्तीकरण र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्दै आएको सरोकारवालाहरूको भनाइ छ। पछिल्लो समय देखिएका केही समस्या र अनियमितताबीच पनि सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र दिगो बनाउन नियमन तथा सुधारका प्रयासहरू तीव्र बनाइएका छन्।

सहकारी क्षेत्रको सुदृढीकरणसँगै समावेशी आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

More From Author

चुनावका लागि तीन दिन सार्वजनिक बिदा — सरकारको निर्णय

शक्तिशाली भनिएको सहकारी नियमन प्राधिकरण फेरि म्याद थप्न बाध्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *