ललितपुर – शक्तिशाली भनिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरण बचत तथा ऋण सहकारी संस्थाहरूसामु निरीह देखिएको देखिएको छ। गत १० असोजदेखि सुरु गरिएको बचत तथा ऋण सहकारी संस्थाको दर्ता तथा अभिलेखीकरण प्रक्रिया ११ फागुन (सोमबार) सम्मका लागि तोकिएको थियो।
तर तोकिएको समयभित्र पर्याप्त सहकारी संस्थाहरूले दर्ता प्रक्रिया पूरा नगरेपछि प्राधिकरणले पुनः म्याद थप्ने निर्णय गरेको छ। अब दर्ता तथा अभिलेखीकरणको अन्तिम म्याद १७ चैतसम्म पुर्याइएको छ।
प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन अनिवार्य अभिलेखीकरण अभियान अघि बढाएको भए पनि अपेक्षित सहभागिता नआएपछि म्याद थप्नु परेको जनाएको छ।
सहकारी क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएका वित्तीय अनियमितता, बचतकर्ताको रकम अपचलन तथा व्यवस्थापन कमजोरीलाई मध्यनजर गर्दै नियामक निकायले कडाइका साथ दर्ता प्रक्रिया अघि बढाएको दाबी गरिएको थियो। तर बारम्बार म्याद थपिनुले प्राधिकरणको कार्यक्षमता र सहकारी संस्थामाथिको नियन्त्रण क्षमतामाथि प्रश्न उठेको छ।
यसबीच, सरोकारवालाहरूले नियमनलाई प्रभावकारी बनाउन कानुनी कार्यान्वयन, अनुगमन र दण्डात्मक व्यवस्थामा कडाइ आवश्यक रहेको बताएका छन्।
