जितेन्द्र कुमार श्रेष्ठसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ललितपुर, ११ फागुन ।
ललितपुर क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा भएको कार्यक्रममा चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यले स्वागत मन्तव्य राख्दै व्यवसायी समुदाय र राजनीतिक नेतृत्वबीच निरन्तर संवाद आवश्यक रहेको बताउनुभयो। उहाँले ललितपुरको आर्थिक विकास, पर्यटन प्रवर्द्धन, साना तथा मझौला उद्योगको संरक्षण र कर प्रणालीमा सुधारका विषयलाई उम्मेदवारहरूले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो। “निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिनिधि हामीलाई आवश्यक छ,” अध्यक्ष शाक्यले भन्नुभयो।

कार्यक्रममा बोल्दै ललितपुर क्षेत्र नं. ३ का उम्मेदवार जीतेन्द्र कुमार श्रेष्ठले आफू व्यवसायीमैत्री नीति र पारदर्शी प्रशासनका पक्षमा रहेको स्पष्ट पार्नुभयो। उहाँले उद्योग–व्यवसाय क्षेत्रले भोगिरहेका बैंक ब्याजदर, करको जटिलता, लगानी असुरक्षा तथा बजार व्यवस्थापनका समस्यालाई समाधान गर्न संसद् र सम्बन्धित निकायमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो।

उम्मेदवार श्रेष्ठले मतदातासमक्ष आफूलाई विजयी गराउन आग्रह गर्दै भन्नुभयो, “यो निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा मात्र होइन, ललितपुरको समृद्ध भविष्य निर्माण गर्ने अवसर हो। तपाईंहरूको मतले विकास र सुशासनलाई संस्थागत गर्नेछ।” उहाँले स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनलाई आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो।

कार्यक्रममा सहभागी केही स्थानीयवासी तथा संघ–संस्थाका प्रतिनिधिहरूले पछिल्लो समय स्थानीय संघसंस्थाहरूमा ‘कांग्रेसकरण’ भएको गुनासो समेत व्यक्त गरे। उनीहरूले राजनीतिक प्रभावका कारण संस्थागत स्वायत्तता कमजोर बन्दै गएको उल्लेख गर्दै संघ–संस्थाहरूलाई दलगत प्रभावबाट मुक्त राख्नुपर्ने धारणा राखे।

यस विषयमा प्रतिक्रिया दिँदै उम्मेदवार श्रेष्ठले लोकतान्त्रिक मूल्य र संस्थागत स्वतन्त्रताको सम्मान गर्ने बताउनुभयो। “कुनै पनि संस्था आफ्नो विधान र उद्देश्यअनुसार स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्छ,” उहाँले भन्नुभयो, “राजनीतिक आस्थाभन्दा माथि उठेर विकास र सहकार्यलाई प्राथमिकता दिनुपर्छ।”

भेटघाट कार्यक्रममा उद्योगी, व्यवसायी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

More From Author

नेपाली कांग्रेसले वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको छ : प्रवक्ता चालिसे

चुनावका लागि तीन दिन सार्वजनिक बिदा — सरकारको निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *