नेपाली कांग्रेसले वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको छ : प्रवक्ता चालिसे

ललितपुर, ११ फागुन — नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले वर्तमान प्रतिनिधिसभा निर्वाचनलाई पार्टीले जनमतको परीक्षाका रूपमा स्वीकारेको बताउनुभएको छ।

आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकले दशकौँदेखि भोग्दै आएको राजनीतिक संक्रमण, आर्थिक विषमता र जनअपेक्षाअनुसार काम हुन नसकेको यथार्थलाई कांग्रेसले जिम्मेवारीपूर्वक आत्मसात गरेको बताउनुभयो। अब सुशासन र सुधारको स्पष्ट अठोटसहित निर्वाचनमा होमिएको उहाँको भनाइ थियो।

उहाँले सार्वभौम जनताको जनादेश नै शासनको वैधताको आधार भएको उल्लेख गर्दै निर्वाचनमार्फत व्यक्त हुने जनमतलाई कांग्रेसले गहिरोसँग आत्मसात गरेको स्पष्ट पार्नुभयो।

प्रवक्ता चालिसेले लोकतन्त्रमा प्रेसको भूमिकालाई अत्यन्त महत्वपूर्ण मान्दै अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आत्मा भएको धारणा राख्नुभयो। “पत्रकारबाट आलोचना भएन भने हामी दुखी हुन्छौँ,” लोकतान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको भनाइ उद्धृत गर्दै उहाँले प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस सधैं दृढ रहेको बताउनुभयो।

उहाँका अनुसार लोकतन्त्रको स्थापना, सम्बर्द्धन र दिगो भविष्यका लागि लोककल्याणकारी शासन प्रणाली सुदृढ गर्न कांग्रेसले चुनावी अभियानलाई सशक्त रूपमा अघि बढाइरहेको छ। निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा आँच आउने गतिविधि रोक्न सबै पक्षलाई आग्रह गर्नुभयो।

सामाजिक विद्वेष फैलाउने, घृणायुक्त अभिव्यक्ति गर्ने तथा व्यक्तिगत निन्दा र पार्टीका झण्डा जलाउने गतिविधि निन्दनीय भएको उल्लेख गर्दै यस्ता कार्य तत्काल बन्द गरिनुपर्ने उहाँको भनाइ थियो।

बदलिएको कांग्रेसलाई बुद्धिजीवी, पेशाकर्मी र आम श्रमिक वर्गले स्वागत गरिरहेको दाबी गर्दै उहाँले अतिवाद र प्रतिगामी उन्मादबीच मध्यमार्गी तथा सन्तुलित चरित्रको वैज्ञानिक पद्धति र व्यवहारिक उन्नति सुनिश्चित गर्न सचेत वर्गले थप जिम्मेवारी वहन गर्नुपर्ने चुनौती औँल्याउनुभयो।

प्रवक्ता चालिसेले सामाजिक सञ्जाललगायत विभिन्न माध्यम प्रयोग गरी कांग्रेस उम्मेदवारहरूलाई अपमानित र दुरुत्साहित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै कांग्रेसले भयको राजनीति नगर्ने र गर्न पनि नदिने स्पष्ट पार्नुभयो। इतिहासका अनेक संघर्ष पार गरेको पार्टी वर्तमान संक्रमणका चुनौती सामना गर्न सक्षम रहेको उहाँले बताउनुभयो।

उहाँले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र मतदातालाई भ्रममा नपरी दृढतापूर्वक प्रचारप्रसारमा जुट्न आग्रह गर्नुभयो। साथै मतदातालाई बदलिएको कांग्रेसलाई जिताएर मुलुकको रूपान्तरण अभियानमा सहभागी हुन आह्वान गर्नुभयो।

कांग्रेसले जनतामाझ प्रस्तुत गरेको प्रतिबद्धताप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गर्दै उहाँले आमजनताका प्रश्नको उत्तर दिन पार्टी सदैव तत्पर रहेको पनि जानकारी दिनुभयो।

More From Author

आदिवासी जनजातिका मुद्दा निरन्तर उठाउन सरोकारवालाको आग्रह,आधार-पत्र उपर राजनीतिक दलहरूसँग संवाद कार्यक्रममा

जितेन्द्र कुमार श्रेष्ठसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *