“उम्मेदवार चिनौं, विचार सुनौं” भन्ने मूल नारासहित ललितपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न

ललितपुर, फागुन ९, २०८२

“उम्मेदवार चिनौं, विचार सुनौं” भन्ने मूल नारासहित ललितपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। “न पक्षधरता, न आग्रह, न पूर्वाग्रह—केवल नागरिक दायित्वको चेतना” भन्ने सन्देशसहित आयोजित उक्त कार्यक्रम लोकतन्त्रको सजीव अभ्यासका रूपमा उदाहरणीय बनेको आयोजकले जनाएको छ।

भुल्खु टोल सुधार समितिपट्को टोल सुधार समिति को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत ललितपुर क्षेत्र नं. २ का सबै प्रमुख प्रत्याशीहरूलाई एउटै मञ्चमा उभ्याएर समान अवसर प्रदान गरिएको थियो। सहभागी उम्मेदवारहरूले आफ्ना नीति, योजना, दृष्टिकोण तथा समसामयिक राजनीतिक एजेन्डाबारे धारणा राखेका थिए।

कार्यक्रममा विशेषगरी संविधान संशोधन, निर्वाचन प्रणालीको परिमार्जन, सुशासन, युवापुस्ताको अपेक्षा, तथा पछिल्लो समय चर्चामा रहेको ‘Gen Z विद्रोह’ को मर्म सम्बोधन जस्ता विषयहरू उठान गरिएको थियो। नागरिकले प्रत्यक्ष रूपमा उम्मेदवारका विचार सुन्ने र प्रश्न गर्ने अवसर पाएकोले कार्यक्रमलाई ऐतिहासिक प्रयासका रूपमा लिइएको छ।

आयोजकहरूले लोकतन्त्र हजारौं शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धि भएको स्मरण गराउँदै त्यसको रक्षा र सुदृढीकरणका लागि सचेत नागरिक भूमिका अपरिहार्य रहेको बताए। “हामी केवल एउटा कार्यक्रमका लागि भेला भएका होइनौं, लोकतन्त्रलाई व्यवहारमा उतार्ने सत्प्रयास गरेका हौं,” आयोजक समितिका प्रतिनिधिले भने।

निर्वाचन नजिकिँदै गर्दा “जनता एक दिनका लागि राजा हुने दिन” को सन्दर्भ उल्लेख गर्दै सचेत मतदाताले सूचित र जिम्मेवार निर्णय लिन सकून् भन्ने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ। सभ्य संवाद र खुला बहसको माध्यमबाट लोकतान्त्रिक संस्कार विकास गर्न यस्ता कार्यक्रम आवश्यक रहेको सहभागीहरूको धारणा थियो।

स्थानीय बुद्धिजीवी, युवा, महिला तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा उम्मेदवारहरूबीच मर्यादित बहस र विचार आदान–प्रदान भएको थियो।

आयोजक समितिले आगामी दिनमा पनि नागरिक सचेतना अभिवृद्धि र उत्तरदायी राजनीति प्रवर्द्धनका लागि यस्ता रचनात्मक पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। 

More From Author

Delight Kindergarten High School ले आफ्नो स्थापनाको २५ वर्ष पूरा

आदिवासी जनजातिका मुद्दा निरन्तर उठाउन सरोकारवालाको आग्रह,आधार-पत्र उपर राजनीतिक दलहरूसँग संवाद कार्यक्रममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *