Delight Kindergarten High School ले आफ्नो स्थापनाको २५ वर्ष पूरा

ललितपुर, २०८२ फाल्गुन ९ — Delight Kindergarten High School ले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा रजतजयन्ती महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। ललितपुर महानगरपालिका–२६, ढोलाहिटीस्थित विद्यालय परिसरमै आयोजित समारोहमा शिक्षा, संस्कृति र उत्सवको अनुपम संगम देखिएको थियो।

कार्यक्रमको उद्घाटन वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ले गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा उहाँले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि पठनपाठनसँगै उनीहरूभित्र निहित ज्ञान, सिप र प्रतिभालाई निखार्ने वातावरण आवश्यक रहेकोमा जोड दिनुभयो।
“विद्यालय, शिक्षक र अभिभावकले मिलेर बालबालिकाको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यको पनि उपस्थिति रहेको थियो।

विद्यालयकी प्रधानाध्यापिका रश्मिरा शाक्यले विद्यालयको यात्रालाई स्मरण गर्दै २०५६ सालमा विद्यालय अध्यक्ष सुनील लामा र आफ्नै संयुक्त लगानीमा मात्र १३ जना विद्यार्थीबाट शैक्षिक यात्रा सुरु भएको बताउनुभयो।
“आज २५ वर्षको गौरवमय इतिहास पूरा गर्नु हामी सबैको सोच, संघर्ष र अथक मिहिनेतको उत्सव हो,” उहाँले भावुक हुँदै भन्नुभयो।

उहाँका अनुसार विद्यालयले सुरुदेखि नै बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर शिक्षा प्रदान गर्दै आएको छ। परीक्षाको अंक मात्र नभई लेखन, वाचन, सिर्जना र खेलकुदजस्ता पक्षलाई पनि मूल्यांकनको आधार बनाइएको छ। सिकाइलाई रमाइलो र प्रभावकारी बनाउन ‘कुमन गणित’ जस्ता नवीन शैक्षिक पद्धति अपनाइएको जानकारी पनि दिइयो।

२०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका कठिन समयमा विद्यालयले समाजसेवा र राहत कार्यमा सक्रिय भूमिका निर्वाह गरेको प्रसंगले कार्यक्रमलाई थप भावुक बनाएको थियो।
विद्यालयका अध्यक्ष सुनील लामाले समसामयिक शिक्षा प्रणालीमा प्रविधिको उपयोग अनिवार्य बन्दै गएको उल्लेख गर्दै सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तथा उत्पादनमूलक शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो।
“शिक्षालाई जीवन पद्धतिसँग जोड्न सके मात्र विद्यार्थी भविष्यका सक्षम नागरिक बन्न सक्छन्,” उहाँले बताउनुभयो।

विद्यार्थीहरूको तर्फबाट श्रेया थापा र निर्भिक शाक्यले मन्तव्य राखेका थिए भने अभिभावकहरूको तर्फबाट अनुप शाक्य र राजेश शाक्यले आफ्ना धारणा व्यक्त गरेका थिए। अतिथिका रूपमा उपस्थित Miss Nepal 2025 सुना लुईटेलले पनि विद्यालयको प्रगतिप्रति शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा लामो समयदेखि विद्यालयमा योगदान पुर्‍याएका शिक्षक तथा कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो। ललितपुर महानगरपालिकाकी उपमेयर मंजल शाक्य बज्राचार्यले विद्यालयको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो।

सांस्कृतिक कार्यक्रमतर्फ ‘श्रुतिभधुर धुन’ शीर्षकमा विशेष सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। वरिष्ठ संगीतकार तथा गायक जुजुकाजी रञ्जित र वरिष्ठ संगीतकार मनराजा नकर्मी को मनमोहक प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बनेको थियो। विद्यार्थीहरूले पनि विविध नृत्य तथा गीतमार्फत आफ्ना प्रतिभा प्रस्तुत गर्दै उपस्थित सबैको मन जिते।

रजतजयन्ती महोत्सवका अवसरमा विद्यालय परिसरलाई उत्सवमय बनाउँदै विभिन्न खेलकुद प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, मनोरञ्जनात्मक खेल तथा खाद्य स्टलहरू सञ्चालन गरिएको थियो। यसले कार्यक्रमलाई थप जीवन्तता र रौनक प्रदान गरेको थियो।

२५ वर्षको यात्रा पूरा गरेको यस ऐतिहासिक अवसरले विद्यार्थी, अभिभावक र शिक्षकका लागि अविस्मरणीय क्षण सिर्जना गरेको छ। विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

सामाजिक अनुगमन र शिक्षाको नीति निर्माणमा सरकारको भूमिका

“उम्मेदवार चिनौं, विचार सुनौं” भन्ने मूल नारासहित ललितपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts