ललितपुर । चोछें मंकाः खलः शिक्षा तथा स्वास्थ्य उपसमितिको आयोजनामा यल महानगरपालिका–१२ आदर्श कन्या निकेतन उच्च माध्यमिक विद्यालय परिसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ।
ने.सं. ११४६ सिल्लागा षष्ठी अर्थात् २०८२ माघ २४ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको शिविरमा नाक, कान, घाँटी परीक्षण, पाठेघर जाँच (स्क्रिनिङ), सामान्य स्वास्थ्य परीक्षण, ECG, अल्ट्रासाउन्ड, रक्तदान तथा निःशुल्क औषधि वितरण सेवा प्रदान गरिएको थियो।
शिविरमा स्टार अस्पताल लिमिटेडको प्राविधिक सहयोग रहेको थियो भने चोछें मंकाः खलः र वडा नं. १२ कार्यालयको समन्वय तथा प्रायोजनमा कार्यक्रम आयोजना गरिएको हो। रक्तदान कार्यक्रमको व्यवस्थापन सहयोगमा रक्तदान कार्यक्रम गरेको थियो।
स्टार अस्पतालका शेयर सदस्यहरूका लागि निःशुल्क होलबडी चेकअपको व्यवस्था गरिएको थियो। यसअन्तर्गत CBC, RBS, ट्राइग्लिसराइड, क्रिएटिनिन, SGOT, SGPT, TSH, युरिन R/E तथा फिल्म बिना चेष्ट एक्सरे जस्ता परीक्षणहरू समावेश गरिएको थियो। साथै पहिलो फोलोअप निःशुल्क तथा चिकित्सकको थप प्रिस्क्रिप्सनमा २० प्रतिशत छुटको व्यवस्था गरिएको थियो।
शिविरमा राष्ट्रिय कोच प्रदीप अवाले, तीनपटक राष्ट्रिय कीर्तिमान बनाएका भारोत्तोलन खेलाडी सुजित अवाले तथा राष्ट्रिय बक्सिङ प्रशिक्षक रोहित अवालेको उपस्थिति रहेको थियो।
कार्यक्रमका सभापति चोछें मंकाः खलः शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक विनोद अकाले रहनुभएको थियो।
प्रमुख अतिथिका रूपमा ज्यापु समाज यलका नायः भाजु सन्तमान महर्जन उपस्थित हुनुहुन्थ्यो।
विशेष अतिथिमा वडा नं. १२ का कार्यवाहक अध्यक्ष सानु अवाले, ज्यापु समाज यलकी वरिष्ठ न्वकु मयजु सविना महर्जन तथा चोछें मंकाः खलःका नायः भाजु चेकराम अवाले रहनुभएको थियो।
अतिथिहरूमा चोछें मंकाः खलःका नि. नायः भाजु रामलाल अवाले तथा ज्यापु समाज यल महिला, बालबालिका, स्वास्थ्य तथा ज्येष्ठ नागरिक कवः ल्यूकजी देवी महर्जन सहभागी हुनुहुन्थ्यो। स्वागत मन्तव्य कजी विनोद अवालेले राख्नुभएको थियो।
शिविरको अवसरमा प्रमुख अतिथिबाट रक्तदानकर्तालाई ब्लड ज्याकेट वितरण गरिएको थियो। आयोजक संस्थाले समुदायस्तरमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।
