अहिले देश विभिन्न चुनौती र अन्योलको अवस्थामा छ। यस्तो बेला देशको सम्पूर्ण माहोललाई नेतृत्व गर्नसक्ने र जनतालाई सही दिशामा अघि बढाउन सक्ने शक्ति

ललितपुर/ २५ माघ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले देशको समग्र राजनीतिक माहोललाई नेतृत्व गर्न र मुलुकलाई सही दिशा दिन सक्ने क्षमता नेपाली कांग्रेससँग मात्रै रहेको स्पष्ट गर्नुभएको छ।

नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ द्वारा आयोजना गरिएको ललितपुर महानगरपालिका वडा नं. २६ र २७, सुनाकोठीमा सम्पन्न क्रियाशील सदस्य भेला तथा निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अमात्यले वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको जित अनिवार्य रहेको बताउनुभयो। उहाँले लोकतन्त्रको संरक्षण, संविधानको कार्यान्वयन र देशको स्थायित्वका लागि कांग्रेसको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो।

“अहिले देश विभिन्न चुनौती र अन्योलको अवस्थामा छ। यस्तो बेला देशको सम्पूर्ण माहोललाई नेतृत्व गर्नसक्ने र जनतालाई सही दिशामा अघि बढाउन सक्ने शक्ति नेपाली कांग्रेस मात्रै हो,” अमात्यले भन्नुभयो।

उहाँले पार्टीभित्रको एकता र संगठनात्मक अनुशासनलाई बलियो बनाउन सबै कार्यकर्तालाई आग्रह गर्दै उम्मेदवारभन्दा पनि पार्टीको चिन्ह र सिद्धान्तलाई जिताउनुपर्नेमा जोड दिनुभयो।

“उम्मेदवार को व्यक्ति छ भन्ने धेरै चिन्ता हामीलाई छैन। हामीले रुखलाई जिताउने हो। रुख जिते हामी सबै जित्छौं, रुखले हार्दा हामी सबै हार्छौं,” उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ रहेको जानकारी गराइयो। निष्कलंक व्यक्तित्व, इमानदार छवि र हक्की स्वभावका धनी श्रेष्ठलाई तर्कशील, क्षमतावान तथा जनतासँग नजिक रहने राजनीतिज्ञका रूपमा चिनाउँदै वक्ताहरूले उहाँको जितले क्षेत्र र देशको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

भेलामा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले निर्वाचनलाई लक्षित गरी घरदैलो अभियान, संगठन सुदृढीकरण र मतदाता अभिमुखीकरणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

More From Author

चोछें मंकाः खलः शिक्षा तथा स्वास्थ्य उपसमितिको आयोजनामा यल महानगरपालिका–१२ आदर्श कन्या निकेतन उच्च माध्यमिक विद्यालय परिसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न

ललितपुर महानगरले शारदा पुस्तकालय पुनः सञ्चालन गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *