नयाँ दिल्ली। श्रीलंकामा मुख्यालय रहेको सार्क फाउन्डेशनले लोकतन्त्र, मानवअधिकार तथा प्रेस एवं अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धनमा योगदान पुर्याएका दक्षिण एशियाका विभिन्न देशका पत्रकार तथा सामाजिक व्यक्तित्वलाई साउथ एशियन हिरो अवार्ड–२०२६ प्रदान गरेको छ।

भारतको नयाँ दिल्लीस्थित होटल क्राउन प्लाजामा शुक्रबार साँझ आयोजित विशेष समारोहका बीच नेपाल, भारत, बंगलादेश र श्रीलंकाका पत्रकार तथा अभियन्ताहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा (नेपाल), महासचिव मो. अब्दुर रहमान (बंगलादेश) र सदस्य स्मीता मिश्र (भारत) रहेका छन्। उनीहरूलाई दक्षिण एशियामा लोकतन्त्र, मानवअधिकार तथा स्वतन्त्र पत्रकारिताको पक्षमा निरन्तर योगदान पुर्याएको मूल्याङ्कन गर्दै अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले यस्ता सम्मानले पत्रकारहरूलाई लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको पक्षमा अझ दृढतापूर्वक वकालत गर्न ऊर्जा थप्ने बताए। उनले सार्क पत्रकार मञ्च शान्ति, लोकतन्त्र र स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि निरन्तर क्रियाशील रहँदै आएको उल्लेख गरे।

यसैगरी सार्क पत्रकार मञ्च नेपालका रुद्र सुवेदी, सार्क जर्नलिस्ट फोरम नेपाल च्याप्टरका कार्यबाहक अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, अजमत अलि सिद्दिकी, भारतका अनुरुद्ध सुधान्शु, डा. शशीभूषण कुमार तथा श्रीलंकाका राहुल सामन्थलगायत दर्जनौँ व्यक्तित्वहरू पनि साउथ एशियन हिरो अवार्ड–२०२६ बाट सम्मानित भएका छन्।
कार्यक्रममा सार्क फाउन्डेशनका अध्यक्ष डा. अमिला मोरेमाडाले दक्षिण एशियामा लोकतन्त्र, मानवअधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा प्रवर्द्धनमा योगदान गर्ने व्यक्तित्वहरूलाई आगामी दिनमा पनि निरन्तर सम्मान गरिने बताए। उनले सार्क फाउन्डेशन क्षेत्रीयस्तरमा लोकतान्त्रिक मूल्य, मानवअधिकार र स्वतन्त्र अभिव्यक्तिको रक्षाका लागि सक्रिय रूपमा काम गर्दै आएको स्पष्ट पारे।
समारोहमा विभिन्न देशका पत्रकार, कूटनीतिक व्यक्तित्व तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
