आक्रोशबाट जन्मिएकोभन्दा देशको भविष्यप्रति जिम्मेवार पार्टीलाई मतदान गर्नुपर्ने : प्रवक्ता चालिसे

ललितपुर, २२ माघ — नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आक्रोशको भावनाबाट सिर्जित राजनीतिक शक्तिभन्दा देशको भविष्यप्रति जिम्मेवार पार्टीलाई मतदान गर्नु आवश्यक रहेको बताउनुभएको छ। प्रतिनिधिसभा निर्वाचन–२०८२ को सन्दर्भमा नेपाली कांग्रेसले बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता चालिसेले राजनीतिक उद्देश्यका लागि बालबालिकालाई प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो। उहाँले केही राजनीतिक दलहरूले विपक्षी उम्मेदवारप्रति घृणा फैलाउने गतिविधि बढाउँदै लगेको आरोप पनि लगाउनुभयो।

उहाँले नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण शक्ति परिचालन गरिसकेको बताउँदै चुनावअघि कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने स्पष्ट पार्नुभयो। “पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ। चुनावपूर्व कुनै पार्टीसँग गठबन्धन हुँदैन। भ्रम फैलाउने कार्यको हामी निवारण गर्छौं। गैरकांग्रेस दृष्टिकोण बुझ्न ‘डबली कार्यक्रम’ सञ्चालन गर्ने तयारीमा छौं,” उहाँले भन्नुभयो।

प्रवक्ता चालिसेले देशभर नेपाली कांग्रेसप्रति जनताको भरोसा बढ्दै गएको दाबी गर्नुभयो। उहाँले नेपाली कांग्रेसको ऐतिहासिक भूमिका स्मरण गर्दै २०१६ सालमा बीपी कोइरालाको नेतृत्वमा बनेको सरकारले १८ महिनामै महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्नुभयो। त्यस्तै, २०४८ सालमा नेपाली कांग्रेसको सरकारले मुलुकको आर्थिक जग बसालेको र हालसम्म देश सोही प्रणालीमा सञ्चालन भइरहेको उहाँको भनाइ थियो।

उहाँले २०५१ सालपछि देश गृहयुद्धको चपेटामा परेको स्मरण गर्दै अबको निर्वाचनबाट राजनीतिक स्थायित्व कायम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “त्यसपछिका समय नेपाली कांग्रेसले चाहेअनुसार परिणाम निकाल्ने गरी सरकार बन्न सकेन। २०५१ सालदेखि देश गृहयुद्धमा फस्यो, विभिन्न समस्या उत्पन्न भए। अबको निर्वाचनबाट स्थायित्व कायम हुनुपर्छ,” उहाँले भन्नुभयो।

उहाँले नागरिकले कुनै पनि निर्णय गर्नु अघि गम्भीर रूपमा विचार गर्नुपर्नेमा जोड दिनुभयो। वर्तमान अवस्थामा जनताको निराशालाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास भइरहेको भन्दै त्यसबाट अधिनायकवादी प्रवृत्ति मौलाउने खतरा रहेको उहाँले चेतावनी दिनुभयो। “जनताको निराशालाई उपयोग गर्दै जर्मनीमा हिटलर जन्मिएका थिए। जनताको निराशाबाट खराब तत्व र अधिनायकवादी नेतृत्व स्थापित हुन्छ। नागरिक स्वतन्त्रता कुण्ठित हुन्छ। अधिनायकवाद बाजा बजाएर आउँदैन, कसको हातमा नेतृत्व पुग्दा देश सुरक्षित हुन्छ भन्ने बुझ्नुपर्छ,” उहाँले भन्नुभयो।

यसैबीच, प्रवक्ता चालिसेले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर उम्मेदवार बन्नु मानवअधिकारका दृष्टिले उचित भए पनि नैतिकताको हिसाबले उपयुक्त नभएको धारणा राख्नुभयो। उहाँले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै राजनीतिक दल तथा उम्मेदवार जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ललितपुर क्षेत्र नं. २ : निर्वाचन क्षेत्रगत विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts