ललितपुर । मेयर कप हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै ललितपुर महानगरपालिका वडा नं. ०६ का अध्यक्ष रुपेन्द्रराज शाक्य, वडा नं. ०९ का अध्यक्ष राजु महर्जन तथा वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जनले आ–आफ्ना विचार व्यक्त गर्नुभएको छ।


ललितपुर जिल्ला टेबल टेनिस संघको संयोजन तथा विभिन्न वडा कार्यालयहरूको आयोजनामा सञ्चालन हुँदै आएको मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबल टेनिस प्रतियोगिता–२०८२ ललितपुर महानगरपालिका वडा नं. ०६, कनिबहालस्थित वडा कार्यालयको प्राङ्गणमा २०८२ साल पुष २० गतेदेखि २६ गतेसम्म विधिवत् र भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको हो।

सोही अवसरमा आगामी वर्ष २०८३ मा आयोजना हुने आठौँ मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबल टेनिस प्रतियोगिता–२०८३ आयोजना गर्न ललितपुर महानगरपालिका वडा नं. २१ (खोकना) इच्छुक देखिएकाले प्रतियोगिता सञ्चालनको सम्पूर्ण जिम्मेवारी औपचारिक रूपमा वडा नं. २१ लाई हस्तान्तरण गरिएको छ।
उक्त खेलसँग सम्बन्धित सम्पूर्ण कागजातहरू तथा प्रतियोगिता सञ्चालनको जिम्मेवारी आजकै मितिदेखि लागू हुने गरी हस्तान्तरण गरिएको जानकारी गराइएको छ। साथै, आगामी दिनमा पनि प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न ललितपुर जिल्ला टेबल टेनिस संघका तर्फबाट आवश्यक समन्वय, सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
