ललितपुरमा १० दिने सुनचाँदी जाँचकी तालिम सम्पन्न, प्रमाणपत्र वितरण

ललितपुर — ललितपुर उद्योग वाणिज्य संघको सहयोग तथा ललितपुर सुनचाँदी व्यवसायी संघको आयोजनामा सञ्चालन गरिएको १० दिने सुनचाँदी जाँचकी तालिम माघ ६ गते सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापन अवसरमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रम ललितपुर महानगरपालिकाकी उप–प्रमुख श्रीमती मञ्जली शाक्य बज्राचार्यज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री विश्वराज बज्राचार्यज्यू विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो। त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. १९ का अध्यक्ष श्री राजेन्द्र महर्जनज्यू तथा वडा नं. ६ का अध्यक्ष श्री रुपेन्द्रराज शाक्यज्यू अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप–प्रमुख शाक्य बज्राचार्यज्यूले सीपमूलक तथा व्यावसायिक तालिमले स्थानीय व्यवसायको विश्वसनीयता अभिवृद्धि गर्नुका साथै युवाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सुनचाँदी व्यवसायजस्तो संवेदनशील क्षेत्रमा गुणस्तर, पारदर्शिता र दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

तालिमका मुख्य प्रशिक्षक श्री बिपिन शाक्यज्यू रहनु भएको उक्त तालिममा सुनचाँदीको शुद्धता परीक्षण, जाँच विधि, उपकरणको प्रयोग तथा व्यवसायिक आचारसंहिता सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिममा कुल १६ जना सहभागीहरूले प्रशिक्षण लिएका थिए।

कार्यक्रमका अवसरमा प्रमुख अतिथि, अतिथिहरू तथा प्रशिक्षकलाई ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्री सुबिन बज्राचार्यज्यूले मायाको चिनो प्रदान गर्नुभएको थियो। साथै, तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

आयोजक संस्थाले आगामी दिनमा पनि सुनचाँदी व्यवसायको दक्षता र विश्वसनीयता अभिवृद्धि गर्ने यस्ता सीपमूलक तालिमहरूलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता

मेयर कप टेबल टेनिस प्रतियोगिताको जिम्मेवारी खोकनालाई हस्तान्तरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts