मेयर बालेन शाहले दिए काठमाडौं महानगर प्रमुख पदबाट राजीनामा

काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामा उपप्रमुख सुनिता डंगोलसमक्ष बुझाउनुभएको हो।

मेयर शाहले राजीनामा दिएसँगै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार उपप्रमुख सुनिता डंगोलले स्वतः कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ। ऐनमा महानगर प्रमुखको पद रिक्त भएमा उपप्रमुखले कार्यवाहक प्रमुखको जिम्मेवारी वहन गर्ने स्पष्ट व्यवस्था रहेको छ।

राजीनामापछि बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर पार्टीका वरिष्ठ नेताको रूपमा पदभार ग्रहण गर्नुभएको छ। रास्वपामा औपचारिक रूपमा प्रवेश गरेसँगै उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरिरहेको स्रोतले जनाएको छ।

काठमाडौं महानगरपालिकामा शहरी व्यवस्थापन, अव्यवस्थित संरचना नियन्त्रण, सार्वजनिक स्थानको संरक्षण तथा सुशासनका विषयमा बालेन शाहले चालेका कदमहरू चर्चामा रहँदै आएका थिए। उहाँको राजीनामासँगै महानगरको नेतृत्वमा नयाँ राजनीतिक समीकरण सुरु भएको छ भने राष्ट्रिय राजनीतिमा समेत यसको प्रभाव पर्ने विश्लेषण हुन थालेको छ।

उता कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी सुनिता डंगोलले महानगरको नियमित सेवा प्रवाह, विकास निर्माण तथा प्रशासनिक काममा कुनै अवरोध नआउने गरी अघि बढ्ने प्रतिबद्धता जनाउने तयारी गरेको जनाइएको छ।

मेयर शाहको राजीनामा र राष्ट्रिय राजनीतिमा सक्रिय प्रवेशले आगामी निर्वाचनको माहोल थप रोचक बन्ने देखिएको छ।

More From Author

ललितपुर महानगरको आठौं हिउँदे नगरसभा सम्पन्न

सर्वोच्च अदालतको पूर्ण इजलासद्वारा नदी किनार थप २० मिटर छोड्ने फैसला उल्टाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *