ललितपुर महानगरको आठौं हिउँदे नगरसभा सम्पन्न

ललितपुर माघ ४ — ललितपुर महानगरपालिकाको आठौं नगरसभा (हिउँदे नगरसभा) आइतबार सम्पन्न भएको छ। स्थानीय तहले आर्थिक वर्षमा कम्तीमा दुई पटक नगरसभा गर्नुपर्ने कानुनी व्यवस्था अनुसार महानगरले हिउँदे नगरसभा आयोजना गरेको हो।

नगरसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहिता लागू हुने भएकाले आचारसंहिता लागू हुनु अघि नै जनतासँग प्रत्यक्ष जोडिएका सम्पूर्ण कामहरू सम्पन्न गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गर्नुभयो। उहाँले जेनजी प्रदर्शन तथा प्रतिनिधिसभाको निर्वाचनका कारण महानगरको पूँजीगत खर्च अपेक्षा अनुसार हुन नसकेको उल्लेख गर्नुभयो।

प्रमुख महर्जनले अघिल्ला वर्षहरूको अनुभवलाई स्मरण गर्दै पछिल्लो छ महिनामा पूँजीगत खर्च बढी हुने गरेको प्रवृत्ति रहेको बताउनुभयो। “पूँजीगत खर्च नै विकास प्रगति मापनको मुख्य आधार हो,” उहाँले भन्नुभयो, “अब बाँकी छ महिनामा पूँजीगत खर्च वृद्धि हुने गरी कामलाई तीव्रता दिन आवश्यक छ।” आर्थिक वर्ष २०८२/८३ मा हालसम्म महानगरको पूँजीगत खर्च २४ प्रतिशत मात्र रहेको जानकारी पनि उहाँले गराउनुभयो।

महानगर प्रमुख महर्जनले ललितपुर महानगरपालिकाको छवि अन्य स्थानीय तहको तुलनामा सकारात्मक रहेको बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचको राम्रो टिमवर्ककै कारण उपलब्धि हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नागरिकको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर काम गर्नु जनप्रतिनिधिको मुख्य दायित्व भएको बताउनुभयो। उहाँले प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू हुनु अघि नै जनतासँग प्रत्यक्ष जोडिएका तथा नागरिकको मौलिक हकसँग सम्बन्धित विषयहरूलाई प्राथमिकतामा राखेर अघि बढाउन आग्रह गर्नुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले धेरै योजना सुरु भइसके पनि भुक्तानी प्रक्रिया सम्पन्न नभएकाले पूँजीगत खर्च कम देखिएको स्पष्ट पार्नुभयो। उहाँले बाँकी छ महिनामा पूँजीगत खर्च उल्लेख्य रूपमा वृद्धि हुने विश्वास व्यक्त गर्दै महानगरले नागरिकको दैनिक जीवन र दिनचर्यासँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

नगरसभामा महानगरको हालसम्मको प्रगति, आगामी कार्यदिशा तथा विकास योजनाबारे छलफल भएको जनाइएको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

लकस नेपालको निर्वाचन कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

मेयर बालेन शाहले दिए काठमाडौं महानगर प्रमुख पदबाट राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts