कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ माघ पहिलो हप्ताभर विभिन्न कार्यक्रमसहित मनाइने

ललितपुर ।

कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्नुका साथै गरिब तथा सिमान्तकृत समुदायको जीविकोपार्जनको प्रमुख आधार हो। नेपालको संविधानले जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई उच्च प्राथमिकता दिँदै संघ, प्रदेश तथा स्थानीय तीनै तहका सरकारको भूमिका स्पष्ट रूपमा उल्लेख गरेको छ। यसै अनुरूप नेपाल जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्रसमेत हो।

हाल नेपाल कृषि अनुसन्धान परिषद् (NARC) अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रबाट कृषि जैविक विविधताको पर–स्थानीय संरक्षण (Ex-situ conservation) तथा बाली प्रजननमा उपयोगसम्बन्धी कार्य हुँदै आएको छ। त्यस्तै कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र मार्फत सचेतना अभिवृद्धि, क्षमता विकास, स्व–स्थानीय संरक्षण (In-situ conservation), रैथाने बाली प्रवर्द्धन तथा फार्म केन्द्रबाट फिल्ड जीन बैंक सञ्चालनजस्ता गतिविधिहरू सञ्चालन भइरहेका छन्।

जैविक विविधताको महत्वपूर्ण स्रोतका रूपमा रहेका नेपालका रैथाने तथा स्थानीय बालीका जात दर्ता सहजीकरणका लागि बीउ बिजन ऐन, २०८१ मा विशेष व्यवस्था समेत गरिएको छ।

नेपाल जैविक विविधतामा धनी मुलुकहरूमध्ये एक हो। विश्वका जैविक विविधतामा धनी राष्ट्रहरूमध्ये नेपाल ४९औँ स्थानमा पर्दछ। नेपालमा करिब २४ हजार जीवित प्रजातिहरू पाइने र तीमध्ये करिब एक तिहाइमा कृषि क्षेत्रको योगदान रहेको छ। यद्यपि पछिल्लो समय जलवायु परिवर्तन, आधुनिक खेती प्रणालीका नकारात्मक प्रभावका कारण समग्र जैविक विविधतासँगै कृषि जैविक विविधताको ह्रास तीव्र बन्दै गएको छ।

अनुमान अनुसार नेपालमा रहेका कृषि आनुवंशिक स्रोतहरू (कृषि बाली, सम्बन्धित जंगली प्रजाति, घाँसे बाली, पशुपन्छी, मत्स्य तथा जलीय आनुवंशिक स्रोत, कृषि महत्वका कीरा र सूक्ष्म जीव) मध्ये करिब ४० प्रतिशत लोप भइसकेको हुन सक्ने आँकलन गरिएको छ।

कृषि जैविक विविधतासँग हाम्रा धेरै सामाजिक, धार्मिक तथा सांस्कृतिक परम्परा जोडिएका भए तापनि ती पर्व तथा अवसरमा अन्तरनिहित कृषि जैविक विविधताको अपेक्षित प्रचार–प्रसार हुन सकेको देखिँदैन। त्यसैले कृषि जैविक विविधताको महत्व, संरक्षण र दिगो उपयोगबारे आम नागरिक तथा सरोकारवाला सबै पक्षमा चेतना अभिवृद्धि गर्नु अपरिहार्य देखिएको छ।

यसै सन्दर्भमा नेपाल सरकारले वि.सं. २०७९ लाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरेको थियो। साथै मन्त्रिपरिषद्को मिति २०७९/०५/२७ को निर्णयअनुसार हरेक वर्ष माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउने तथा माघको पहिलो हप्तालाई कृषि जैविक विविधता सप्ताह का रूपमा मनाउने निर्णय गरिएको हो।

मूल नारा

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ को अवसरमा

“कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता”

भन्ने मूल नारा तय गरिएको छ।

कृषि विभागका महानिर्देशक श्री प्रकाशकुमार सन्जेलज्यूको अध्यक्षतामा मिति २०८२/९/१४ मा सम्पन्न सरोकारवाला निकायहरूको बैठकले माघ पहिलो हप्ताभर देशभर विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सो बैठकले प्रदेश तथा स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्रलाई समेत सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

प्रमुख उद्देश्यहरू

  • कृषि जैविक विविधताको महत्वबारे आम जनमानसमा चेतना अभिवृद्धि गर्दै दिगो संरक्षण तथा उपयोगमा टेवा पुर्‍याउने
  • तीनै तहका सरकारका नीति, योजना तथा कार्यक्रममा कृषि जैविक विविधतालाई मूलप्रवाहिकरण गर्ने
  • कृषि जैविक विविधताको संरक्षण, उपयोग तथा मूल्य श्रृंखला विकासका लागि उपयुक्त विधि तथा पद्धतिको विकास र अवलम्बन गर्ने

माघ पहिलो हप्ताभर आयोजना हुने प्रमुख कार्यक्रमहरू

  • पत्रकार सम्मेलन (पुस २९) – बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, ललितपुर
  • माघ १ गते माननीय कृषि तथा पशुपन्छी विकास मन्त्रीज्यूको शुभकामना सन्देश
  • राष्ट्रिय कृषि जैविक विविधता दिवस मूल समारोह तथा बृहत् रैथाने कृषि मेला, सम्मान तथा पुरस्कार वितरण – भृकुटीमण्डप, काठमाडौं
  • कृषि जैविक विविधता सम्बन्धी टेलिभिजन संवाद कार्यक्रम – नेपाल टेलिभिजन
  • प्रदेश तथा स्थानीय तहमा कन्दमूल प्रदर्शनी, रैथाने कृषि मेला, मह महोत्सव, सामुदायिक बीउ बैंक उद्घाटन, रैथाने हाटबजार सञ्चालन
  • पोखरा, सुर्खेत, सिन्धुली, इलाम, बाँजुरा, कास्की, कञ्चनपुर, भोजपुर, बाँके, लमजुङलगायत विभिन्न जिल्लामा सप्ताहव्यापी कार्यक्रमहरू

अन्त्यमा

यस वर्षको राष्ट्रिय कृषि जैविक विविधता दिवसको मूल नारालाई आत्मसात गर्दै कृषि आनुवंशिक स्रोत तथा कृषकका परम्परागत ज्ञानको संरक्षणमार्फत स्वस्थ जीवनयापनका लागि उपयुक्त वातावरण निर्माण गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रमहरू देशभर भव्य रूपमा आयोजना गरिनेछ।

यस अवसरमा सातै प्रदेश, मातहतका निकायहरू, सबै स्थानीय तह, कृषक समूह तथा सहकारी, विभिन्न संघ–संस्था, सञ्चार माध्यम तथा सम्पूर्ण सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गरिन्छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड (JAFL) ले आफ्नो उपभोक्ता ब्रान्ड ‘माटो’ अन्तर्गत आठौं स्टोर तथा गोदाम सञ्चालनमा

कुमारीपाटी जावलाखेल विकास संस्थाको पहिलो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts