ललितपुर, पुस —
जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड (JAFL) ले ललितपुर महानगरपालिका वडा नं. १४, थैबामा आफ्नो उपभोक्ता ब्रान्ड ‘माटो’ अन्तर्गत आठौं स्टोर तथा गोदाम सञ्चालनमा ल्याएको छ।
नेपालको कृषि तथा वन क्षेत्रको रूपान्तरण र सशक्तीकरणमा दीर्घकालीन प्रतिबद्धता बोकेको JAFL ले किसानहरूको उत्पादनलाई खरिद प्रत्याभूति (Buy-Back Guarantee) सहित बजारसम्म पु¥याउने उद्देश्यका साथ उक्त स्टोर तथा गोदाम सञ्चालनमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार ‘माटो’ स्टोर तथा गोदामले प्रशोधन केन्द्रको रूपमा समेत काम गर्नेछ। यसका लागि आधुनिक मेसिनरी तथा प्रणालीहरू जडान गरिएको छ, जसले उत्पादनदेखि बजारसम्मको सम्पूर्ण मूल्य श्रृंखलामा कार्यक्षमता, गुणस्तर र पहुँच अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
JAFL को उपभोक्ता ब्रान्ड ‘माटो’ ले रासायनिक मल, कीटनाशक तथा संरक्षक पदार्थ प्रयोग नगरी उत्पादन गरिएका स्थानीय तथा जैविक कृषि उपजको प्रवर्द्धन गर्दै आएको छ। यसमार्फत उपभोक्तालाई शुद्ध, सुरक्षित र ताजा कृषि उत्पादन उपलब्ध गराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
१५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो स्टोर तथा गोदाम करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। यो सुविधा साना तथा मझौला उद्यम (SMEs) का लागि कार्यस्थलका रूपमा समेत प्रयोग गरिनेछ, जहाँ महिला उद्यमीहरूलाई प्राथमिकता दिइनेछ। साथै, यस प्लेटफर्ममार्फत सञ्चालन हुने महिला उद्यमीहरूलाई पनि खरिद प्रत्याभूति प्रदान गरिने जनाइएको छ।
कम्पनीले अन्तर्राष्ट्रिय विकास संस्थाहरू, निजी क्षेत्रका सरोकारवालाहरू तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्दै देशभरका किसानहरूलाई सशक्त बनाउने लक्ष्य लिएको छ। JAFL का सम्पूर्ण लगानीहरू दिगो विकास लक्ष्य (SDGs) लाई सहयोग पुग्ने दिशामा केन्द्रित रहेको बताइएको छ।
कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण ले ‘माटो’ स्टोर तथा गोदाम किसानप्रतिको प्रतिबद्धताको प्रतीक भएको उल्लेख गर्दै यसले नेपाली कृषि उत्पादनलाई न्यायोचित बजार र मूल्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

