सातौँ मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि सुरु हुने

ललितपुर, १८ पुस ।

ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा सातौँ मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिता यही पुस २० गते आइतबारदेखि सुरु हुने भएको छ।

वडा नं. ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार खेलकुदमार्फत युवालाई सक्रिय बनाउँदै टेबलटेनिस खेलको विकास गर्नु तथा खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा महानगरपालिका भित्रका विभिन्न वडाबाट करिब ३०० जना खेलाडीको सहभागिता रहनेछ। खुल्ला पुरुष, महिला तथा विभिन्न उमेर समूह गरी कुल १७ विधामा प्रतिस्पर्धा सञ्चालन हुने अध्यक्ष शाक्यले जानकारी दिनुभयो।

उहाँले प्रतियोगितालाई नयाँ खेलाडीको प्रतिभा पहिचान (ट्यालेन्ट हन्ट) गर्ने अवसरका रूपमा समेत लिइएको बताउँदै अनुभवी खेलाडीको क्षमता अभिवृद्धिमा पनि यसले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगिताका विजेता खेलाडीलाई कुल नगद पुरस्कार राशि रु. ४ लाख २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा सञ्चालन हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल सञ्चालन गरिनेछ। जिल्ला संघका अध्यक्ष आशिष अवालेका अनुसार खेलमा अन्तर्राष्ट्रिय स्तरका निर्णायक रहनेछन् भने ३-स्टार बल प्रयोग गरिनेछ।

अन्तर वडा टेबलटेनिस प्रतियोगिता ललितपुरको कनिबहालस्थित वडा नं. ६ कार्यालय प्राङ्गणमा पुस २० देखि २६ गतेसम्म सात दिन निरन्तर सञ्चालन हुनेछ।

More From Author

नेपाल पत्रकार महासंघ ललितपुरद्वारा सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार स्थापना

यल नेवा समाजको नयाँ कार्यसमिति गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *