नेपाल पत्रकार महासंघ ललितपुरद्वारा सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार स्थापना

(ललितपुर), १७ पुस

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले स्वर्गीय सम्राट आचार्यको स्मृतिमा सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ।

महासंघ ललितपुर शाखाका सदस्य तथा अग्रज पत्रकार मुक्तिनाथ आचार्यका कान्छा सुपुत्र स्वर्गीय सम्राट आचार्यको स्मृतिमा तीन लाख रुपैयाँको अक्षयकोष रहनेगरी उक्त पुरस्कार स्थापना गरिएको हो। क्यान्सर रोगबाट एक वर्षदेखि पीडित रहेका सम्राट आचार्यको २०८२ साल मंसिर १६ गते निधन भएको थियो।

सम्राट आचार्य क्रियाशील पत्रकारिता पुरस्कार कोष स्थापनाका लागि आचार्य परिवारले दुई लाख पचास हजार रुपैयाँ तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले पचास हजार रुपैयाँ व्यवस्थापन गर्ने सहमति भएको शाखाका अध्यक्ष रामहरि कार्कीले जानकारी दिनुभयो।

स्वर्गीय सम्राट आचार्यका पिता तथा अग्रज पत्रकार मुक्तिनाथ आचार्यले कलिलो उमेरमै प्राणघातक रोगका कारण सन्तान गुमाउनु परेको पीडालाई शक्तिमा रूपान्तरण गर्दै समाजका लागि केही सकारात्मक काम गर्ने उद्देश्यले कोष स्थापना गरिएको बताउनुभयो।

उहाँले क्यान्सर रोगका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने भावनाका साथ क्यान्सरसम्बन्धी सचेतनामूलक समाचार, खोजमूलक लेख तथा सन्दर्भ सामग्रीमार्फत जनचेतना फैलाउने पत्रकारलाई प्रोत्साहन गर्न हरेक वर्ष पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो।

“२०५३ साल पुस १६ गते जन्मिएको सम्राटको आजकै दिन जन्मदिन पनि हो। हामीले उसलाई बचाउन सकेनौँ, तर उसको सम्झनालाई जीवित राख्न यो कोषमा रकम उपलब्ध गराएका छौँ,” मुक्तिनाथ आचार्यले भावुक हुँदै भन्नुभयो।

कार्यक्रममा आग्रह पत्रकार प्रभुनारायण बस्नेतले होनहार युवा गुमाउनु परेको पीडालाई शक्तिमा बदल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

“अल्पायुमा नै मृत्यु वरण गर्नुपरेको उसले प्रत्यक्ष रूपमा समाजका लागि काम गर्न नसके पनि उसको नाममा समाजका लागि धेरै सृजनात्मक र रचनात्मक काम गर्न सकिन्छ। हामीले धेरै आफ्ना मानिस गुमाएका छौँ, अब उसलाई सधैं सम्झिने र पीडालाई भुल्ने बाटो रोजौँ,” उहाँले भन्नुभयो।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीका अनुसार उक्त अक्षयकोषबाट प्राप्त हुने व्याज रकमबाट हरेक वर्ष क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धान तथा खोजमूलक पत्रकारिता गर्ने एक जना पत्रकारलाई सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिनेछ।

More From Author

राज घिमिरेको अध्यक्षतामा नेपाल उद्योग व्यापार महासंघ ललितपुरको ४१ सदस्यीय समिति गठन

सातौँ मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि सुरु हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *