मदनराज ताम्राकारद्वारा लिखित ‘अतीतको झझल्को’ सार्वजनिक

ललितपुर, १२ पुस । मदनराज ताम्राकारद्वारा लिखित कृति ‘अतीतको झझल्को’ शनिबार ललितपुरको जावलाखेलमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। उक्त पुस्तक वरिष्ठ साहित्यकार तथा प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले सार्वजनिक गर्नुभएको हो।

पुस्तकमा लेखक ताम्राकारका जीवनअनुभूति, देश–विदेशका विभिन्न स्थानमा गरेको भ्रमण तथा अवलोकनबाट प्राप्त अनुभवलाई शब्दमा रूपान्तरण गरिएका रचनाहरू, संस्मरणात्मक लेखहरू र कतिपय आत्मकथ्यपरक कृतिहरू समेटिएका छन्। यस सङ्ग्रहमा लेखकको आफ्नै जीवनसँग जोडिएका घटना–सन्दर्भलाई संयोजन गरी प्रस्तुत गरिएको छ।

नेपाल बैंक हुँदै एभरेष्ट बैंकसम्मको जागिरे जीवनमा प्राप्त अवसर, विविध भ्रमण र बसाइँका अनुभवलाई निबन्धका रूपमा पुस्तकमा समेटिएको छ। ‘उषाकाल’ निबन्धमा लेखकले आफ्नो बाल्यकाल, पितापुर्खाका प्रसङ्ग, ठूलो परिवारभित्रको मर्यादा, मान–सम्मान, मनमुटाव र खानपानका प्रसङ्गमार्फत त्यतिबेलाको मध्यमवर्गीय परिवारको जीवन्त चित्र उतार्नुभएको छ। दशैं, बिहे वा चाडपर्व कुर्नुपर्थ्यो भन्ने समयको बाल–मनोविज्ञानलाई पनि पुस्तकले मार्मिक ढङ्गले चित्रण गरेको छ।

पुस्तकभित्र समेटिएको एक मार्मिक घटनामा डेढ–दुई वर्षे बहिनी निर्मला घरको माथिल्लो तलाबाट खसेको दृश्य, त्यसपछि आमाबुवाको आत्तिनु, बुवाले बहिनीलाई नारायण भवन लैजानु, र त्यस घटनाले चार वर्षे बालकको मनोविज्ञानमा पारेको प्रभावलाई सजीव रूपमा प्रस्तुत गरिएको छ।

‘बादल पछाडिको तारा’ निबन्धमा लेखककी फुपू रूपकेशरीले बङ्गाली युवकसँग प्रेमविवाह गरेको करिब सात दशकअघिको पारिवारिक सन्दर्भ, त्यसले परिवारमा पारेको प्रभाव र पछि लेखकको कलकत्ता यात्राका अनुभव समेटिएका छन्। ‘जिन्दगीका तरङ्गहरू’ शीर्षकमा पुख्र्यौली पेसा, होटल व्यवसायको उतार–चढाव र जीवनका संघर्षहरू प्रस्तुत छन्।

‘समर्पण’, ‘बालबाल बचेँ’, ‘सिमरा—एक सम्झना’, ‘अविस्मरणीय जङ्गल यात्रा’, ‘सर्जिकल’, ‘मेडिकल’ र ‘मृगौला प्रत्यारोपण’ जस्ता निबन्धहरूमा बिरामी जीवन, अस्पतालका अनुभव, अस्ट्रेलिया यात्रा, भूकम्प, माओवादी द्वन्द्वकालीन सन्दर्भ, आमाको मृगौला प्रत्यारोपण असफल भई देहावसानसम्मका कारुणिक प्रसङ्गहरू समेटिएका छन्। ‘भूलभुलैया’ निबन्धमा क्वालालम्पुर टर्मिनलमा श्रीमतीसँगको बिछोड, चारधाम यात्रामा पिताजी हराएको घटना र चेन्नईमा श्रीमती हराएको प्रसङ्गजस्ता रोचक घटनाहरूले कृतिलाई थप गहिरो बनाएका छन्।

कार्यक्रममा मन्तव्य राख्दै प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले अवकाशपछिको जीवनलाई सार्थक बनाउने प्रयासस्वरूप लेखकले आफ्ना अनुभव समाजका लागि दस्तावेजीकरण गरेको बताउनुभयो। “जीवन संघर्षहरूको समूह हो। यो पुस्तक परिवारका लागि मात्र नभई ताम्राकार समाज र समग्र नेपाली समाजकै निधि बन्न सक्छ,” उहाँले भन्नुभयो।

वाल्मीकि क्याम्पसका उपप्राध्यापक तथा समालोचक तेजविलास अधिकारीले कृतिले इतिहास र साहित्यको माध्यमबाट समाजलाई प्रेरणा दिने बताउनुभयो। नेपाल पूजा प्रतिष्ठानका कोषाध्यक्ष विजयकुमार गौतमले जीवनका अनुभव, सफलता र संघर्षलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको उल्लेख गर्नुभयो।

लेखकका सुपुत्र तथा प्रकाशक किर्तनराज ताम्राकारले पुस्तक आफ्ना पिताको जीवनसंघर्ष, अनुभव र प्रेरणाको प्रतिबिम्ब भएको बताउनुभयो। प्राध्यापक डा. कुमार कोइरालाले पुस्तक कर्ममा विश्वास गर्ने ताम्राकार परिवारको कथा भएको उल्लेख गर्दै १४ शीर्षकमा जीवनका अतीतसँग जोडिएका विषयवस्तु प्रस्तुत गरिएको जानकारी दिनुभयो।

ताम्राकार समाजका निवर्तमान अध्यक्ष रबिन्द्रराज ताम्राकारले पुस्तक लेखन चुनौतीपूर्ण कार्य भएको बताउँदै ताम्राकार समाजका व्यक्तित्वद्वारा तयार पारिएको यो कृति गहकिलो र महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व. सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्तीको अवसरमा दुईजना वरिष्ठ पत्रकारलाई सम्मान गर्ने

सत्य–तथ्यमा आधारित दस्तावेज प्रस्तुत गर्न आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts