काठमाडौं, पुस १० गते।नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व. सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्तीको अवसरमा दुईजना वरिष्ठ पत्रकारलाई सम्मान गर्ने भएको छ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर योगदान दिँदै आउनु भएका वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्यलाई “सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान” तथा गोरखापत्र दैनिकका उपसम्पादक प्रकृति अधिकारीलाई “सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार” प्रदान गरिने भएको हो।
पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठका अनुसार दुवै पत्रकारलाई यही आउँदो पुस १२ गते शनिबार, ललितपुरको मानभवनस्थित आदर्श विद्या मन्दिरमा आयोजना हुने जन्मजयन्ती समारोहमा सम्मान गरिनेछ। उहाँले पत्रकारितामार्फत समतामूलक समाज निर्माण र सकारात्मक परिवर्तनका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको बताउनुभयो।
कार्यक्रम संयोजक राजु नापितले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षका रूपमा सत्यनारायण बहादुर श्रेष्ठको ऐतिहासिक भूमिकालाई स्थापित गर्न पत्रकार राष्ट्रिय दबूले विगत एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
स्व. श्रेष्ठको नेतृत्वमा २००८ साल वैशाख ९ गते नेपाली पत्रकारहरूको पहिलो पेशागत संगठनका रूपमा नेपाल पत्रकार संघ गठन गरिएको थियो। समग्र पत्रकारलाई संगठित गर्ने उद्देश्यसहित एक वर्षपछि २००९ साल वैशाख २८ गते श्रेष्ठकै नेतृत्वमा संघ पुनर्गठन भएको ऐतिहासिक तथ्य रहेको छ। नेपाल टुडेका सम्पादकसमेत रहेका श्रेष्ठको नेतृत्वमा गठित उक्त संगठन नै कालान्तरमा नेपाल पत्रकार महासंघको रूपमा विकसित भएको हो। तर पछिल्लो समय तथ्यलाई तोडमोड गर्दै २०१२ साल चैत १६ गते पुनर्गठन गरिएको महासंघमा नेपाल पुकारका सम्पादक एवं सन्त नेता कृष्णप्रसाद भट्टराई उपाध्यायलाई अध्यक्षका रूपमा उल्लेख गरिएको विषयप्रति दबूले आपत्ति जनाउँदै आएको छ।
जन्मजयन्ती कार्यक्रमकै अवसरमा पत्रकार राष्ट्रिय दबूले तेस्रो सत्यनारायण बहादुर श्रेष्ठ मिडिया कप फुटसल प्रतियोगिता–११४६ पनि आयोजना गर्ने भएको छ। संयोजक प्रजित शाक्यका अनुसार संस्थापक अध्यक्ष श्रेष्ठलाई राज्यले न्यायोचित रूपमा अपनत्व ग्रहण गराउन दबूले अघि सारेको अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले विगत तीन वर्षदेखि निरन्तर फुटसल प्रतियोगिता आयोजना हुँदै आएको हो।
पत्रकार, कलाकार तथा विभिन्न पेशागत संघ–संस्थामा आबद्ध खेलप्रेमीहरूको सहभागितामा सञ्चालन हुँदै आएको यो प्रतियोगिताले सम्मानसँगै एकता र सहकार्यको सन्देश प्रवाह गर्दै आएको आयोजकको भनाइ छ।
