ललितपुर, १० पुस

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अझैसम्म पनि देशमा निर्वाचनको उपयुक्त वातावरण बन्न नसकेको प्रतिक्रिया दिनुभएको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा हिजो बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पुग्नुभएका उपसभापति गुरुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार पक्षबाट निर्वाचनको वातावरण बनाउन नसकेकै कारण संसद् पुनःस्थापनाको आवाज उठिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै छ। बैठकले संसदीय बोर्ड र समानुपातिक सूची लगायतका विषयमा उचित निकास दिने अपेक्षा गरिएको छ। केही दिनअघि सरकारले राजनीतिक दलहरूलाई बेवास्ता गर्दै जेन–जेडसँग दश बुँदे सहमति गरेको छ, जसले थप संशय उत्पन्न गरेको छ।”
उपसभापति गुरुङले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुने सुनिश्चित भएमा निर्वाचन नै अन्तिम विकल्प हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
“सबै मिलेर अघि बढ्नुपर्छ। निर्वाचन निर्विवाद रूपमा हुनुपर्छ। सरकारले फागुन २१ गते तोकिएको निर्वाचनलाई अर्जुनदृष्टि बनाएर आवश्यक वातावरण सिर्जना गर्नुपर्छ,” उहाँले भन्नुभयो, “राजनीतिक दलहरूलाई तिरस्कार गरेर निर्वाचन सम्भव हुँदैन। जेन–जेड र सरकारबीच भएको दश बुँदे सम्झौताले राज्यमा सुशासन र शान्ति–सुरक्षाको प्रत्याभूति दिन सकेको छैन। अहिलेको परिस्थितिमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ भन्ने कुनै ठोस ग्यारेन्टी छैन। सरकारले तत्काल वातावरण बनाउनुपर्छ र कुनै पनि पार्टी निर्वाचनको यात्राबाट रोकिनु हुँदैन।”
फागुन २१ गतेको निर्वाचन मिति नजिकिँदै गएको उल्लेख गर्दै उपसभापति गुरुङले सरकारले अझ गम्भीर भएर जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
“अहिले निर्वाचन गराउन नदिने र गराउनेबीच जुहारी चलिरहेको छ। सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीका तर्फबाट आएका केही अभिव्यक्तिहरू—‘जेठो छोरा नै निर्वाचन हुन दिन्न’ भन्ने भनाइले समेत आशंका पैदा गरेको छ। चित्तबुझ्दो वातावरण बनाउनुपर्छ, पुरानो र नयाँ भनेर विभाजन गर्ने काम हुनु हुँदैन।”
सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टीका पदाधिकारीहरूका साथै पूर्वगृहमन्त्री रमेश लेखक समेत सहभागी रहनुभएको छ।
