ललितपुर, २९ मंसिर — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हा ले हस्तकला क्षेत्रले नेपालको पहिचान जोगाउँदै अर्थतन्त्रलाई चलायमान बनाइरहेको बताउनुभएको छ।
नेपाल हस्तकला महासंघ को ५३औँ वार्षिकोत्सव तथा १४औँ हस्तकला दिवसको अवसरमा आइतबार पाटन संग्रहालय, मंगलबजारमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै मन्त्री सिन्हाले नेपालको कला, संस्कृति र सीपको जगेर्ना गर्ने संवाहकका रूपमा रहेको हस्तकला क्षेत्रको सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “नेपालका प्रत्येक कुनाकाप्चामा हस्तकला उद्योगले रोजगारी सिर्जना गरिरहेको छ। हस्तकलाको प्रवर्द्धनमा महासंघले खेल्दै आएको भूमिका महत्त्वपूर्ण छ। नेपाल सरकारले हस्तकला क्षेत्रमा आवश्यक नीतिगत तथा प्रक्रियागत व्यवस्थालाई अझ प्रभावकारी बनाउनेछ।”
कार्यक्रममा विन्दु श्रेष्ठ, बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीले हस्तकला क्षेत्रले देशको अर्थतन्त्र उकास्न उल्लेखनीय योगदान दिएको बताउनुभयो। उहाँले बागमती प्रदेशका १३ वटै जिल्लाका हस्तकला उद्यमीहरूले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन र बजार विस्तारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको र यसका लागि प्रभावकारी कदम चालिने जानकारी दिनुभयो।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ का कार्यबाहक अध्यक्ष अञ्जनकुमार श्रेष्ठ ले हस्तकला दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो। उहाँले नेपाल विदेशी हस्तकलाको बजार बन्दै गएको उल्लेख गर्दै स्वदेशी वस्तु तथा उत्पादनको प्रयोग र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
नेपाल हस्तकला महासंघ का अध्यक्ष रबिन्द्र शाक्य ले हस्तकला उद्योगले रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। उहाँले हस्तकला क्षेत्रमा संचित ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गरी यस क्षेत्रलाई जीवन्त कायम राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा उत्कृष्ट तीन जना निकासीकर्ता, गैर–निकासीकर्ता, उद्यमी तथा कलाकारहरूलाई सम्मान प्रदान गरिएको थियो।
