सबै व्यवसायिक तथा गैर–व्यवसायिक संस्था, बैंक, पसल तथा संघ–संस्थाहरूलाई आगामी माघ १ गतेभित्र अनिवार्य रूपमा नेपाल भाषा (नेवारी) रञ्जना लिपि साइनबोर्ड

ललितपुर, मंसिर २७ ।

ललितपुर महानगरपालिका–१६ ले वडा भित्र सञ्चालनमा रहेका सबै व्यवसायिक तथा गैर–व्यवसायिक संस्था, बैंक, पसल तथा संघ–संस्थाहरूलाई आगामी माघ १ गतेभित्र अनिवार्य रूपमा नेपाल भाषा (नेवारी) रञ्जना लिपि साइनबोर्डमा समावेश गर्न पुनः अनुरोध गरेको छ।

वडाध्यक्ष निर्मल रत्न शाक्यका अनुसार तोकिएको समयसीमा भित्र रञ्जना लिपि प्रयोग नगर्ने संस्थाहरूलाई वडा कार्यालयको निर्णयअनुसार नवीकरण प्रक्रिया रोक्का गरिनेछ। साथै, नियम उल्लङ्घन गर्ने संस्थामाथि ढिलो दस्तुर तथा प्रचलित कानुनअनुसार जरिवाना समेत लाग्ने चेतावनी दिइएको छ।

वडाले यसअघि पनि पटक–पटक सूचना जारी गर्दै रञ्जना लिपिको संरक्षण, प्रवर्द्धन र पहिचानलाई मजबुत बनाउन साइनबोर्डमा अनिवार्य रूपमा यसको प्रयोग गर्न आग्रह गर्दै आएको थियो। वडाध्यक्ष शाक्यले रञ्जना लिपि ललितपुरको ऐतिहासिक र सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य धरोहर भएको उल्लेख गर्दै यसको प्रयोगले स्थानीय भाषा, संस्कृति र मौलिकताको संरक्षणमा टेवा पुग्ने बताए।

उनका अनुसार साइनबोर्डमा रञ्जना लिपि समावेश गर्दा संस्थाको मूल नाम रञ्जना लिपिमा स्पष्ट रूपमा देखिने गरी राख्नुपर्नेछ, आवश्यक परे अन्य लिपि वा भाषाको सह–प्रयोग गर्न सकिनेछ। वडा कार्यालयले संस्थाहरूलाई आवश्यक जानकारी तथा परामर्शका लागि समन्वय र सहजीकरणसमेत गर्ने जनाएको छ।

वडाले तोकिएको म्यादभित्र सबै सरोकारवालाले सहकार्य गरी नियम पालना गर्न आग्रह गर्दै, स्थानीय पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणमा साझा जिम्मेवारी निर्वाह गर्न आह्वान गरेको छ।

More From Author

प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि ललितपुरबाट कांग्रेसका ३२ जना सिफारिस

हस्तकला क्षेत्रले देशको पहिचान जोगाउँदै अर्थतन्त्र चलायमान बनाएको छ : मन्त्री सिन्हा

Leave a Reply

Your email address will not be published. Required fields are marked *