ललितपुर, मंसिर १८: नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैन सिंह महरद्वारा रचित ‘बन्छ बन्छ मेरो देश बन्छ’ बोलको राष्ट्रिय भावनाले भरिएको गीत सार्वजनिक गरिएको छ। ललितपुरमा बुधबार आयोजित विशेष समारोहमार्फत ओएसआर डिजिटल युट्युब च्यानलबाट उक्त गीत औपचारिक रूपमा सार्वजनिक गरिएको हो। समसामयिक निराशा, अव्यवस्था र बेथितिलाई मध्यनजर गर्दै आशा, परिवर्तन र सकारात्मक ऊर्जा सञ्चार गर्ने उद्देश्यका साथ गीत तयार पारिएको बताइएको छ।
गीतमा शिक्षा मन्त्री महावीर पुन, महानायक राजेश हमाल, माइती नेपालकी संस्थापक अनुराधा कोईराला, गायक प्रमोद खरेल, वरिष्ठ चिकित्सक डा. भोला रिजाल, खेलाडी दिपक विष्ट, राष्ट्रिय गीतका रचनाकार प्रदीपकुमार राई ‘ब्याकुल माइला’, टिकटकर तथा मोडल मिस पबी, क्रिकेट क्षेत्रका प्रतिनिधि टमटालगायत थुप्रै व्यक्तित्वको अभिनय समावेश छ।
सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै रचनाकार **प्रदीपकुमार राई (ब्याकुल माइला)**ले देशभक्ति गीतको सृजना आजको आवश्यकता भएको बताउँदै कलाकार र कवि–साहित्यकारले आफ्ना सृजनाबाट देश विकासको भावना जगाउनुपर्नेमा जोड दिए।
“गीत–संगीत उद्योगको विकास भइरहेको बेला देशभक्ति गीत प्राथमिकतामा नपुगेका छन्। यस्ता गीतले राष्ट्रलाई गतिशीलता दिन मद्दत गर्छ,” उहाँले भन्नुभयो।
वरिष्ठ चिकित्सक डा. भोला रिजालले नैन सिंह महरको राजनीतिक सक्रियतामा साहित्यिक योगदान थपिनु उत्साहजनक रहेको टिप्पणी गर्दै, “राजनीतिलाई दोष दिनुभन्दा काम नगर्ने संस्कार हटाउनुपर्छ। यस्तो गीतले भविष्य पुस्तालाई पनि मार्गदर्शन गर्छ,” बताउनुभयो।
गीतकार तथा कांग्रेसका युवा नेता नैन सिंह महरले देश चिनाउने आ–आफ्नै शैली भए पनि युवालाई प्रेरणा दिने, परिश्रमलाई मातृभूमिमै उपयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यले गीत सृजना गरिएको बताए।
“वि.सं. २०४६ पछि देश बन्छ भन्ने विश्वासका साथ राजनीतिमा होमिएको हुँ। यो गीतले जनतासँग प्रत्यक्ष संवाद गर्न र बदलिंदो देशको आशा जगाउन मद्दत गर्छ,” उहाँले भने।
अग्रज पत्रकार पुरुषोत्तम दाहालले साहित्य र कला मन–मष्तिष्कको उपज भएको उल्लेख गर्दै, देशको मूल दिशानिर्देशनमा साहित्य–संस्कृतिको भूमिका महत्वपूर्ण रहेको बताए। “गीत–साहित्य देशको ढुकढुकी हो, यिनले विकासमा सशक्त योगदान पुर्याउँछन्,” उहाँले जोड दिए।
गायक प्रमोद खरेलले राजनीति र साहित्य फरक विषय भए पनि राजनीतिमा सक्रिय व्यक्तिबाट लेखिएको गीतका शब्दहरू ओझिलो र प्रभावशाली रहेको टिप्पणी गरे।
राष्ट्रिय भावना, सकारात्मक सोच र परिवर्तनका आशा बोकेको ‘बन्छ बन्छ मेरो देश बन्छ’ गीत सार्वजनिकसँगै सर्वत्र चर्चा भइरहेको आयोजकले जनाएको छ।
