२०८२ मंसिर १८ — मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज देशभर धानको विधिपूर्वक पूजा–आराधना तथा दान गर्दै धान्यपूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ ।

मंसिर महिनामा भित्र्याइने नयाँ धानको सम्मानस्वरूप नेवार तथा पहाडी समुदायले आज धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायतका देवताको पूजा गर्ने परम्परा रहँदै आएको छ। नयाँ भित्रिएको धान कुटेर चामल बनाइने, त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी, मालपुवा लगायतका परिकार तयार गरी देवतामा चढाउने चलन अहिले पनि प्रचलित छ।

परम्पराअनुसार, जसले नवअन्नप्राशन नगरेका छन् उनीहरूले यही दिन नवान्नप्राशन गराउने विधि मान्ने चलन छ। धान्यपूर्णिमाका अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौंको चम्पादेवी लगायत विभिन्न धार्मिक स्थलमा विशेष मेला लाग्ने गर्दछ।

योमरी पूर्णिमा (योमरी पुन्हि) हर्षोल्लासका साथ मनाइँदै

नयाँ धान भित्र्याएको खुसीयालीसँगै नेवार समुदायले आज योमरी पूर्णिमा अथवा योमरी पुन्हि पर्व खाद्य–संस्कृतिको महत्वपूर्ण चाडका रूपमा मनाइरहेका छन्। योमरी पर्वलाई ‘रसिलो चाड’ का नामले पनि चिनिन्छ।

नयाँ धानको चामलको पिठो, चाकु र तिलबाट तयार गरिने योमरी पकाउन आज बिहानदेखि नै घर–घरका महिला विशेष रूपमा व्यस्त देखिन्छन्। नुहाइधुवाइ गरी घर लिपपोत गर्ने, भान्सामा सामूहिक रूपमा योमरी पकाउने तथा परिवारका सदस्यलाई वितरण गर्ने सांस्कृतिक अभ्यास निरन्तर रहँदै आएको छ।

दूधबाट बनेको खुवा, चाकु तथा तिल भरेर विशेष आकारमा बनाइने योमरीलाई नेवार समुदायले स्वास्थ्य, समृद्धि र घरको भकारी भरिनुको प्रतीकका रूपमा लिन्छन्। यस दिन धान राख्ने भकारी वा कोठीमा पनि विशेष पूजा गरी आगामी वर्ष भरभराउ अन्न प्राप्तिको कामना गरिन्छ।

यसबाहेक, गर्भवती चेलीबेटीका लागि तिल र चाकु भरिएको योमरी सगुन को रूपमा माइतीबाट पठाउने परम्पराले यो पर्वलाई अझै भावनात्मक बनाएको छ। गर्भस्थ शिशुको पूर्ण स्वास्थ्य र दीर्घायुको कामना गर्दै यो सगुन दिने परम्परा आज पनि जीवित छ।

More From Author

विश्व पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ : श्रीलंकामा नेपालको ऐतिहासिक प्रदर्शन, ४१ पदकको कीर्तिमान

कांग्रेस केन्द्रीय सदस्य नैन सिंह महरद्वारा लिखित ‘बन्छ बन्छ मेरो देश बन्छ’ राष्ट्रिय गीत सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *