ललितपुर/१५ मंसिर:
असेज वाव संस्थाद्वारा ललितपुर महानगरपालिका वडा नं. २७, सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी आइतबार सम्पन्न भएको छ।
ख्रिस्टियन धर्मप्रति आस्थावान परमेश्वरको मण्डलीमा आबद्ध जागिरे युवाहरूको स्वयंसेवी समूह असेज वावले आयोजना गरेको उक्त गोष्ठीमा वडाध्यक्ष कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा ललितपुर जिल्ला समन्वय समितिका उप–प्रमुख रामलाल थिङ, वडा स्वास्थ्य कार्यान्वयन समितिका संयोजक रामदेवी महर्जन, सुनाकोठी स्वास्थ्य चौकीका सदस्य सचिव डिल्लीराम श्रेष्ठ, विकास तथा सुशासन समितिका संयोजक निरोज महर्जन, हामी माया गर्छौं फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्साेहाङ लगायतको उपस्थिति थियो।
“सन् २०४० सम्म प्लास्टिक प्रदूषण अन्त्य गरौँ” भन्ने मूल नारासहितको गोष्ठीमा
वडाध्यक्ष महर्जनले युवाहरूले उठाएको कदम अत्यन्तै प्रेरणादायी भएकाले वडा कार्यालयले आगामी दिनमा पनि असेज वावका अभियानलाई निरन्तर साथ र समर्थन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
असेज वावका संयोजक जय महर्जनले जागिरे युवाहरू केवल जीविकोपार्जनमै सीमित नभई पृथ्वी संरक्षणमा समेत सक्रिय योगदान दिँदै आएको बताउँदै, प्लास्टिकमुक्त स्वस्थ पृथ्वी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
गोष्ठीमा राष्ट्रिय गान, प्रेरणादायी गीत, असेज वावका गतिविधिसँग सम्बन्धित श्रव्य–दृश्य तथा प्लास्टिक प्रदूषणका असरहरूबारे प्रस्तुतिकरण गरिएको थियो।
जनप्रतिनिधि र सरोकारवालाहरूले “असेज वाव प्लास्टिकमुक्त अभियान २०४०” लाई समर्थन जनाउँदै हस्ताक्षरसमेत गरेका थिए।
गोष्ठीमा महिला स्वास्थ्य स्वयंसेविका, स्थानीयबासी र सदस्यहरू गरी ७५ जनाको सहभागिता रहेको थियो।
परमेश्वरको मण्डली विश्वभर १ सय ७५ देशमा ७,८०० भन्दा बढी स्थानमा फैलिएको अन्तर्राष्ट्रिय संस्था हो, जसमा करिब ३९ लाख २० हजार सदस्य आवद्ध छन्।
मण्डलीका सदस्यहरूले वातावरण संरक्षण, प्रकोप राहत, रक्तदान, छिमेकी सहयोग तथा सांस्कृतिक आदानप्रदानसहित ४४,००० भन्दा बढी स्वयंसेवा गतिविधि विश्वव्यापी रूपमा सम्पन्न गरिसकेका छन्।
संस्थाले अमेरिकाबाट राष्ट्रपति स्वयंसेवा अवार्ड (३ पटक), बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरिया, ब्राजिल, पेरु लगायतका मुलुकबाट ५,४०० भन्दा बढी अवार्ड प्राप्त गरेको तथ्य असेज वावका सदस्य रुपक घिमिरेले गोष्ठीमा प्रस्तुत गर्नुभयो।
