प्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई औपचारिक शिक्षामा रूपान्तरण– गोकर्णेश्वर नगरपालिकाको पहल

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले प्राविधिक व्यावसायिक शिक्षा तथा तालिम (TVET) लाई औपचारिक शिक्षासँग जोड्ने महत्वपूर्ण कदम सुरु गरेको छ। शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला (आईल्याब) कार्यक्रमअन्तर्गत विद्युत् सवारी साधन (EV) मर्मत–सम्भार सम्बन्धी ३ महिनाको छोटो तालिमलाई दीर्घकालीन औपचारिक कार्यक्रममा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइएको हो।

यो कार्यक्रम काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (KUSOED) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोग (SDC) को प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको छ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालका अनुसार नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सुरु गरिएको हो।

उनका अनुसार—
“१८ देखि ४० वर्षका बेरोजगार स्थानीय युवालाई लक्षित गरी तालिम सञ्चालन हुँदैछ। सीप सिकाएर युवालाई स्वरोजगार, उद्यमशील बनाउने र क्रमिक रूपमा यसलाई औपचारिक शिक्षामा रूपान्तरण गर्ने हाम्रो लक्ष्य छ।”

आईल्याब २०२५ परियोजनाअन्तर्गत मधेस प्रदेश बाहेक सबै प्रदेशमा एक-एक समूह गठन गरिएको छ।
बागमती प्रदेशमै ललितपुर र काठमाडौं गरी दुई समूह रहेका छन्।
हरेक समूहले स्थानीय आवश्यकता अनुसार अलग–अलग प्राविधिक तथा व्यवसायिक कार्यक्रम सञ्चालन गरिरहेका छन्।

काठमाडौं विश्वविद्यालयका पूर्व डिन तथा प्राध्यापक डा. महेशनाथ पराजुलीका अनुसार गोकर्णेश्वर समूहले अनौपचारिक रूपमा हुँदै आएका प्राविधिक तालिमलाई औपचारिक शिक्षामा रूपान्तरण गर्ने स्पष्ट कार्ययोजना बनाएको छ
बागमती प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT–Bagmati) की कार्यकारी निर्देशक शान्ति लामाका अनुसार—
“स्थानीय, प्रदेश र संघीय तहबीच समन्वय गर्दै अनौपचारिक तालिमलाई औपचारिक शिक्षामा विकास गर्ने यो नेपालमै पहिलो प्रयास हो।”

यस उद्देश्यले गोकर्णेश्वर नगरपालिकाले EV मर्मत तालिमका लागि सर्वेक्षण गर्ने, २ वर्षे औपचारिक पाठ्यक्रम विकास गर्ने र स्थायी कार्यक्रम बनाउने तयारी गरेको छ।

नेपाल उद्योग परिसंघले EV मर्मत क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्न, सीपयुक्त युवालाई रोजगारमा जोड्न र शिक्षा–उद्योग सहकार्य बढाउन सक्रिय भूमिका खेल्ने जनाएको छ।
“बागमती प्रदेश, गोकर्णेश्वर नगरपालिका र उद्योग परिसंघबीच त्रिपक्षीय सम्झौता भइसकेको छ। उद्योगको मागअनुसार जनशक्ति उत्पादन गर्न सहकार्य हुनेछ।”

आईल्याब काठमाडौं समूहका संयोजक रमेश दुलालका अनुसार देशभर बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न सीपमूलक प्राविधिक तालिमलाई औपचारिक शिक्षातर्फ लैजाने प्रक्रिया अत्यन्तै महत्वपूर्ण छ।

More From Author

नेपाल भाषा मंकाः खलः यलमा नयाँ नेतृत्व : महेन्द्रलाल महर्जन अध्यक्षमा निर्वाचित

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी क्षेत्रलाई आधुनिक र पारदर्शी बनाउन लक्ष्यसहित नयाँ अनलाइन सफ्टवेयर प्रणाली औपचारिक रूपमा शुभारम्भ गरेको छ। अबदेखि सहकारी संस्थाको दर्ता, नवीकरण, तथा अभिलेखिकरणका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा डिजिटल माध्यमबाट नै सञ्चालन हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *