ललितपुर २०८२-मंसिर ७— नेपाल भाषा मंकाः खलः यलको नयाँ कार्यसमितिको नेतृत्व महेन्द्रलाल महर्जनले गर्ने भएका छन्। आइतबार सार्वजनिक भएको मतपरिणामअनुसार उनले तीन मतको न्यून अन्तरले प्रतिस्पर्धी बाबुराजा महर्जनलाई पछि पार्दै अध्यक्षमा विजय हासिल गरेका हुन्। महेन्द्रलालले ३७६ मत प्राप्त गर्दा बाबुराजाले ३७३ मत ल्याएका थिए। अघिल्लो कार्यसमितिमा महेन्द्रलाल सचिव र बाबुराजा उपाध्यक्षका रूपमा कार्यरत थिए।
शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष, दुई अनिवार्य महिला सदस्य तथा नौ खुला सदस्यसहित १२ पदका लागि मतदान गरिएको थियो। १ हजार २४४ दर्ता मतदातामध्ये ९७६ जनाले मतदान गरेका थिए। मत प्रतिशत ७८.४५ थियो।
मतपरिणामअनुसार अधिकांश पदमा महेन्द्रलाल महर्जनको प्यानल विजयी रहेको छ। उनका प्यानलबाट विनोद महर्जन (४४३), प्रेम महर्जन चिरी (३९५), राजु ताम्रकार (३९३), राजेन्द्र महर्जन (३८९) र रविन्द्र बाराही (३७९) निर्वाचित भएका छन्। महिला सदस्यमा पनि फरिन्दा महर्जन (४५८) र रमणा महर्जन बज्राचार्य (४०९) महेन्द्रलालकै प्यानलबाट चुनिएका छन्।
बाबुराजा प्यानलबाट बेखारत्न महर्जन (४२५), उकुलाल महर्जन (४१७), प्रवीण महर्जन (३९२) र न्हुच्छेमान महर्जन (कपुर) (३८४) विजयी भए।
संस्थाको विधानअनुसार निर्वाचित सदस्यहरूले उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षको पदस्थापन पछि तय गरिनेछ।
स्थापनाकालदेखि भाषा, साहित्य र सांस्कृतिक क्षेत्रका व्यक्तिहरू सक्रिय रहेको नेपाल भाषा मंकाः खलःमा पछिल्ला वर्षमा व्यवसायी, राजनीतिज्ञ, सञ्चारकर्मी, कलाकार तथा खेलाडी पृष्ठभूमिका व्यक्तिहरूको पनि सहभागिता उल्लेख्य रूपमा बढेको छ।
मतपरिणाम घोषणा समारोहमा नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा अध्यक्ष महेन्द्रलाल महर्जनले संस्थाको उद्देश्य तथा समग्र समुदायको भावना अनुसार संस्थालाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले मंकाः खलःलाई केवल भाषिक होइन, ललितपुरका विविध संगठनहरूको साझा प्रतिनिधि संस्थाका रूपमा रूपान्तरण गर्दै नयाँ पुस्तासम्म गौरवपूर्ण इतिहास हस्तान्तरण गर्ने संकल्प समेत व्यक्त गरे
