ललितपुर, ३ मंसिर ।
बागमती प्रदेशभरिका जिल्ला जनस्वास्थ्य कार्यालयहरूबीच भएको वार्षिक मूल्याङ्कनमा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुर प्रथम भएको छ। कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म हेटौंडामा सम्पन्न प्रदेश स्वास्थ्य निर्देशनालयको आ.व. २०८१/८२ को प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा ललितपुरले उत्कृष्टताको प्रमाणपत्र प्राप्त गरेको हो।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरकी निमित्त प्रमुख दीपा पाण्डेका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार हेटौंडामा आयोजित विशेष समारोहमा कार्यालयका खोप अधिकृत राजाराम कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।
निमित्त प्रमुख पाण्डेले भन्नुभयो,
“आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा सम्पन्न स्वास्थ्य कार्यक्रमहरू, स्वास्थ्य सूचकहरूको उपलब्धि तथा प्रस्तुतीकरणको मूल्याङ्कनका आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले ललितपुरलाई पुरस्कृत गरेको हो।”
गत वर्ष पनि ललितपुरले बागमती प्रदेशमै उत्कृष्ट जनस्वास्थ्य कार्यालयको पहिचान कायम राख्न सफल भएको थियो।
प्रदेशभरि रहेका अस्पतालहरूको समग्र मूल्याङ्कनमा:
• भक्तपुर अस्पताल – प्रथम
• नुवाकोटको त्रिसुली अस्पताल – द्वितीय
• सिन्धुपाल्चोकको चौतारा अस्पताल – तृतीय
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फ
• सिन्धुली – प्रथम
• नुवाकोट – द्वितीय
• चितवन – तृतीय
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका निवर्तमान प्रमुख डा. भुवन पौडेलका अनुसार निजी तथा सरकारी अस्पतालहरूबीचको सुदृढ समन्वय, संसाधनको प्रभावकारी उपयोग, कार्यक्रम कार्यान्वयनमा सक्रियता र समुदायमै आधारित स्वास्थ्य पहल नै यस उत्कृष्टताको मुख्य आधार भएको हो।
“ललितपुरमा सञ्चालनमा रहेका निजी तथा सरकारी स्वास्थ्य संस्थाबीचको निरन्तर सहकार्य, समयमै तथ्यांक व्यवस्थापन र महामारीपछिको स्वास्थ्य सेवाको सुदृढिकरण नै यस उपलब्धिको मूल आधार हो।”
