
मेची भाद्र १२ -ः मंगलबार राति आएको बाढीका कारण मेचीनगर–१५ लिम्बुडाँडास्थित मेची नदी किनारमा रहेको ९२/११ नं सहायक सीमा स्तम्भ भाँचिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
घटनापछि स्थानीयवासीमा सीमा निर्धारणबारे चिन्ता बढेको छ। मेचीनगर–१५ का वडा अध्यक्षले स्तम्भ तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै भने, “सीमा स्तम्भ हाम्रो राष्ट्रिय पहिचान र भू–स्वामित्वसँग जोडिएको विषय हो, त्यसैले तत्काल ध्यान दिनुपर्छ।”
यसैबीच, इलाका प्रशासन कार्यालय काँकडभिट्टाले सशस्त्र प्रहरी, सर्वेक्षण विभाग र भारतीय पक्षसँग आवश्यक समन्वय गरी स्तम्भ पुनःस्थापना प्रक्रिया अघि बढाइने जनाएको छ। प्रशासनका अनुसार बाढीले नदी किनारमा क्षति पुर्याएको क्षेत्रको थप सर्वेक्षण कार्य पनि सुरु गरिनेछ।