बुद्धमलमा हेलो सर्भिस नेपालको नयाँ शाखा सञ्चालन

ललितपुर भाद्र २ -ः राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहायक कम्पनी हेलो सर्भिस नेपालले काठमाडौंको माछापोखरीस्थित बुद्धमलमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले ग्राहक तथा व्यवसायीलाई छिटो, भरपर्दो र विश्वसनीय लजिस्टिक्स सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा सञ्जाल विस्तार गर्ने क्रममा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ।

नयाँ शाखाको उद्घाटन लोकप्रिय गायिका तथा ‘रमणी बाई एलेना’की अध्यक्ष एलेना चौहानको प्रमुख आतिथ्यमा भएको हो। कार्यक्रमको अध्यक्षता राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष विशाल हुमागाईंले गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा हेलो सर्भिस नेपालका अध्यक्ष मोहनप्रसाद तिमिल्सिना, देवकी सापकोटा, बसन्त खत्री, अञ्जन भट्टराई, रविन्द्रकुमार पजियार, पवनकुमार सिंह र प्रतीक अधिकारीलगायतको उपस्थिति थियो। त्यस्तै, याप कलाकार निर्पय श्रेष्ठ, सामाजिक सञ्जाल प्रभावकर्ता सम्राट अधिकारी, विष्णु बराल, सुदीप सापकोटा, नेपाल मेला महोत्सव संघका पूर्वअध्यक्ष सन्दीप महत, रामकृष्ण महर्जन, लक्ष्मण महर्जन र शेखर वाग्लेलगायतको समेत सहभागिता रहेको थियो।

उद्घाटन कार्यक्रममा हेलो सर्भिस नेपालसँग आबद्ध विभिन्न विक्रेताले कम्पनीमार्फत प्राप्त गर्दै आएको लजिस्टिक्स सेवाको अनुभव साझा गरेका थिए। उनीहरूले कम्पनीको सेवा छिटो, भरपर्दो र प्रभावकारी रहेको बताउँदै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीका प्रतिनिधिका अनुसार ग्राहकलाई गुणस्तरीय, सुरक्षित, छिटो तथा विश्वसनीय लजिस्टिक्स सेवा उपलब्ध गराउने उद्देश्यले हेलो सर्भिस नेपालले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको छ। ग्राहकको बढ्दो आवश्यकता र मागलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सेवा विस्तार गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा आगामी दिनमा च्युरोडलगायतका स्थानमा समेत नयाँ शाखा सञ्चालन गर्ने योजना रहेको जानकारी दिइएको थियो।

हेलो सर्भिस नेपालको प्रधान कार्यालय सातदोबाटोमा रहेको छ भने कम्पनीको वेयरहाउस कलंकीमा रहेको छ। यसैगरी एनबीटीसी कलंकीबाट समेत शाखामार्फत सेवा प्रदान हुँदै आएको कम्पनीले जनाएको छ।

माछापोखरीस्थित बुद्धमलमा नयाँ शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहक तथा व्यवसायीलाई लजिस्टिक्स सेवा थप सहज र पहुँचयोग्य हुने कम्पनीको विश्वास छ।

कम्पनीले व्यक्ति, व्यवसाय तथा विभिन्न संघ–संस्थालाई लक्षित गर्दै सुरक्षित, छिटो, भरपर्दो र विश्वसनीय लजिस्टिक्स सेवा उपलब्ध गराउने जनाएको छ। सेवा विस्तारसँगै ग्राहकको आवश्यकता र मागअनुसार देशका विभिन्न क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ।

हेलो सर्भिस नेपालले लजिस्टिक्स क्षेत्रलाई थप व्यवस्थित, सहज र प्रविधिमैत्री बनाउँदै ग्राहकलाई समयमै सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।

नयाँ शाखा सञ्चालनसँगै माछापोखरी तथा आसपासका क्षेत्रका ग्राहक, व्यवसायी र विक्रेताले सामान ढुवानी तथा लजिस्टिक्ससम्बन्धी सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापन राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष विशाल हुमागाईंले गर्नुभएको थियो।

More From Author

रास्वपाले स्थानीय तहका ३५ हजारभन्दा बढी पदमा आवेदन माग्यो, फागुन २१ का उम्मेदवारले भाग लिन नपाउने

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा भूमि नन्दन कर्माचार्यको उम्मेदवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *