रास्वपाले स्थानीय तहका ३५ हजारभन्दा बढी पदमा आवेदन माग्यो, फागुन २१ का उम्मेदवारले भाग लिन नपाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवार छनोट गर्न आवेदन आह्वान गरेको छ। पार्टीले स्थानीय तहका ३५ हजार २ सय २१ पदका लागि आवेदन माग गरेको जनाएको छ।

रास्वपाका अनुसार आगामी २०८४ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी देशभरका ७५३ स्थानीय तह तथा ६ हजार ७४३ वडामा निर्वाचन हुनेछ।

पार्टीले माग गरेको पदमा २९३ जना मेयर, २९३ जना उपमेयर, ४६० जना गाउँपालिका अध्यक्ष, ४६० जना उपाध्यक्ष तथा ६ हजार ७४३ जना वडा अध्यक्षका लागि आवेदन खुला गरेको छ।

त्यस्तै, १३ हजार ४८६ खुला वडा सदस्य, ६ हजार ७४३ महिला वडा सदस्य र ६ हजार ७४३ दलित महिला वडा सदस्यका लागि समेत आवेदन माग गरिएको छ।

रास्वपाले उम्मेदवार छनोटका लागि चार चरणको परीक्षा तथा मूल्यांकन प्रक्रिया अघि बढाउने जनाएको छ। पार्टीले उम्मेदवार छनोटलाई प्रतिस्पर्धात्मक र योग्यतामा आधारित बनाउने दाबी गरेको छ।

यसैबीच, आगामी स्थानीय तह निर्वाचनका लागि आवेदन दिने उम्मेदवारको हकमा यसअघि फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई सहभागी हुन नदिने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले देशभर संगठन विस्तार तथा उम्मेदवार छनोटको तयारी अघि बढाएको हो। स्थानीय तहका ७५३ पालिका र ६ हजार ७४३ वडामा हुने निर्वाचनमा ठूलो संख्यामा उम्मेदवार छनोट गर्नुपर्ने भएकाले पार्टीले आवेदन प्रक्रियालाई प्राथमिकतामा राखेको जनाएको छ।

More From Author

बहुप्रतिभाशाली कलाकार स्वतन्त्र संसार महर्जनको स्मृतिमा ‘फर्की आउ प्रिय’ सार्वजनिक

बुद्धमलमा हेलो सर्भिस नेपालको नयाँ शाखा सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *