चार दशकअघि चोरी भएको प्रतिमापछि स्थापना गरिएको तेस्रो श्री बालकुमारी माईको प्रतिमा नवनिर्मित मन्दिरमा पुनः विराजमान

ललितपुर, असार २४ — २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको ऐतिहासिक श्री बालकुमारी माईको मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै आज वि.सं. २०८३ साल असार २४ गते श्री बालकुमारी माईको प्रतिमालाई अस्थायी सत्तलबाट नवनिर्मित मूल मन्दिरमा विधिपूर्वक विराजमान (प्रतिष्ठापना) गरिएको छ।

धार्मिक विधि, वैदिक मन्त्रोच्चारण तथा भक्तजनहरूको उपस्थितिमा सम्पन्न प्रतिष्ठापना कार्यक्रममा स्थानीयवासी, गुठियार, श्रद्धालु तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यससँगै भूकम्पपछि वर्षौंदेखि अस्थायी रूपमा राखिएको प्रतिमा पुनः आफ्नै मूल मन्दिरमा स्थापित भएको छ।

इतिहासअनुसार हाल मन्दिरमा विराजमान श्री बालकुमारी माईको प्रतिमा तेस्रो हो। दाता भाइराजा श्रेष्ठ (सिम्वाली, रघुवंश रावत) का सन्तानद्वारा संरक्षित यस मन्दिरका यसअघिका दुईवटा प्रतिमा चोरी भएपछि हालको नयाँ प्रतिमा निर्माण गरी प्रतिष्ठापना गरिएको थियो। प्रतिमा स्थापना गरिएको कमलको बुट्टा भएको पित्तलको आसनमा नेपाल संवत् १००४ को अभिलेख कुँदिएको छ, जसमा प्रतिमाको प्रतिष्ठा, जात्रा तथा दातासम्बन्धी ऐतिहासिक विवरण उल्लेख गरिएको छ।

मन्दिर परिसरमा रहेका अभिलेखहरूले यसको प्राचीनता झन् पुष्टि गर्छन्। मन्दिरको पश्चिमी भित्तामा रहेको शिलालेखमा नेपाल संवत् ९८६ उल्लेख भएको अनुमान गरिएको छ भने भैरवको पछाडि राखिएको ताम्रपत्रमा नेपाल संवत् ६५० अंकित रहेको देखिन्छ।

मन्दिरभित्र श्री बालकुमारी माईलाई केन्द्रमा विराजमान गराइएको छ। दायाँतर्फ भैरव तथा अष्टभैरव र बायाँतर्फ गणेश तथा अष्टमातृकाको स्थापना गरिएको छ, जसले मन्दिरको परम्परागत धार्मिक विन्यासलाई निरन्तरता दिएको छ।

श्री बालकुमारी माईको जात्रा तथा पूजा व्यवस्थापन दाता भाइराजा श्रेष्ठ (सिम्वाली, रघुवंश रावत) का वंशजहरूले निरन्तर गर्दै आएका छन्। नियमित पूजाआजा पुजारी लक्ष्मण कर्माचार्यबाट हुँदै आएको जानकारी दिइएको छ।

भूकम्पपछि मन्दिर पुनःनिर्माणका लागि स्थानीयवासी, ललितपुर महानगरपालिका, वडा कार्यालय तथा सम्बन्धित निकायबाट विभिन्न चरणमा प्रयास भए पनि प्राविधिक तथा प्रशासनिक जटिलताका कारण काम केही समय ढिलाइ भएको थियो। पछि ज्यापु समाजका भूतपूर्व अध्यक्ष तीर्थ महर्जनको पहलमा पुरातत्व विभागबाट बजेट स्वीकृत भएपछि वि.सं. २०७९ सालदेखि पुनःनिर्माण कार्य सुरु भएको थियो। तीन चरणमा बजेट परिचालन गरी वि.सं. २०८२ सालमा मन्दिरको बाह्य संरचना सम्पन्न गरिएको थियो भने अन्ततः भित्री निर्माणसमेत पूरा भएपछि प्रतिमालाई मूल मन्दिरमा पुनः प्रतिष्ठापना गरिएको हो।

More From Author

चार दशकअघि चोरी भएका दुई ऐतिहासिक मूर्ति अमेरिकाबाट स्वदेश फिर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *