
काठमाडौं, साउन २२ — करिब चार दशकअघि नेपालबाट चोरी भएर अमेरिकाका सङ्ग्रहालयसम्म पुगेका दुई महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक मूर्ति अन्ततः स्वदेश फिर्ता भएका छन्। चार वर्षसम्म निरन्तर गरिएको कानुनी, कूटनीतिक तथा सामुदायिक पहलपछि पाटनको इवहाबहीबाट हराएको नृत्यदेवीको मूर्ति र काठमाडौंको ठमेलस्थित विक्रमशील महाविहार (थंबही) बाट चोरी भएको पद्मपाणि लोकेश्वरको मूर्ति नेपाल ल्याउन सफलता मिलेको हो।
यी दुई मूर्ति समुदाय, सम्पदा अभियन्ता, विदेशस्थित नेपाली समुदाय, सरकारी निकाय तथा अन्तर्राष्ट्रिय संस्थाबीचको समन्वित प्रयासबाट फिर्ता हुन सकेका हुन्। १६औँ शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति वि.सं. २०४५/०४६ सालतिर इवहाबहीबाट हराएको थियो भने ताम्रनिर्मित पद्मपाणि लोकेश्वरको मूर्ति वि.सं. २०३६ सालतिर विक्रमशील महाविहारबाट चोरी भएको थियो।
पुरातत्व विभागका अनुसार नृत्यदेवीको मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा तथा पद्मपाणि लोकेश्वरको मूर्ति बर्कले आर्ट म्युजियममा रहेको अवस्थामा फेला परेको थियो। ती मूर्ति नेपालको सम्पदा भएको पहिचान भएपछि न्यूयोर्कस्थित नेवाः गुठीले सम्पदा फिर्ता अभियान सुरु गरेको थियो।

त्यसपछि पुरातत्व विभागले पाटनको इवहाबही र ठमेलस्थित थंबहीमा स्थलगत अध्ययन गरी ऐतिहासिक अभिलेख, पुराना तस्बिर तथा अन्य प्रमाण सङ्कलन गरेको थियो। विभागले तयार पारेका प्रमाण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय र न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमार्फत सम्बन्धित अमेरिकी सङ्ग्रहालय तथा निकायमा पठाइएपछि सम्पदा फिर्ताको प्रक्रिया अघि बढेको थियो।
नेवाः गुठीका अध्यक्ष राजेन्द्र महर्जनले सम्पदा फिर्ता गराउनु लामो, जटिल र धैर्य आवश्यक पर्ने प्रक्रिया भएको बताउँदै विदेशमा रहेका नेपाली समुदायले यसलाई आफ्नो साझा दायित्वका रूपमा लिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि मूर्तिलाई सुरक्षित रूपमा नेपाल पठाउन आवश्यक आर्थिक सहयोगसमेत नेवाः गुठीले गरेको हो।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले चोरी भएका पुरातात्त्विक सम्पदा स्वदेश फिर्ता गराउन सम्बन्धित वस्तु नेपालको नै भएको प्रमाणित गर्ने ऐतिहासिक, अभिलेखीय, फोटोग्राफिक वा अन्य प्रमाण अनिवार्य हुने बताउनुभयो। प्रमाणबिना कुनै पनि देश वा सङ्ग्रहालयले सम्पदा फिर्ता नगर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको उहाँको भनाइ छ।
उहाँका अनुसार आवश्यक प्रमाण पेश गरेपछि अन्तर्राष्ट्रिय कानुनी प्रक्रियाअनुसार असार ९ गते न्यूयोर्कमा आयोजित विशेष समारोहमा नेपाली महावाणिज्यदूतावासलाई ती मूर्ति औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। त्यसपछि सोमबार नेपालमा सम्बन्धित निकायलाई ती मूर्ति हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा स्थानीय गुठीयार, सम्पदा संरक्षणकर्मी, समुदायका प्रतिनिधिसँगै काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलगायतको उपस्थिति रहेको थियो।

पुरातत्व विभागका अनुसार दुवै मूर्तिलाई तत्काल सम्बन्धित स्थानमा पुनःस्थापना नगरिने भएको छ। प्रारम्भिक चरणमा राष्ट्रिय सङ्ग्रहालयमा राखेर वैज्ञानिक परीक्षण, संरक्षण, मर्मतसम्भार तथा अभिलेखीकरण गरिनेछ।
राष्ट्रिय सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीका अनुसार काठको नृत्यदेवी मूर्तिको एक हात भाँचिएको अवस्थामा रहेको छ। लामो समय विदेशमा रहँदा तथा विभिन्न चरणमा भएको ओसारपसारका क्रममा मूर्तिका केही भागमा क्षति पुगेको देखिएको छ। त्यसैले भाँचिएको भागको सूक्ष्म अध्ययन, संरक्षण तथा आवश्यक मर्मतपछि मात्र पुनःस्थापनाको प्रक्रिया अघि बढाइनेछ।
मूर्तिको आकार, बनावट, प्रयोग गरिएको सामग्री, कलात्मक विशेषता, वर्तमान अवस्था तथा ऐतिहासिक विवरणसमेत विस्तृत रूपमा अभिलेखीकरण गरिने जनाइएको छ। सम्पूर्ण संरक्षण प्रक्रिया पूरा भएपछि आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गरी नृत्यदेवीको मूर्ति इवहाबहीमा पुनःस्थापना गरिने विभागले जनाएको छ।
महानिर्देशक प्रधानाङ्गका अनुसार सम्पदा फिर्ता भएपछि तत्काल पुरानै स्थानमा राख्नेभन्दा पहिले वैज्ञानिक परीक्षण, संरक्षण तथा अभिलेखीकरण गर्नु अन्तर्राष्ट्रिय अभ्यास हो। यसबाट सम्पदाको दीर्घकालीन संरक्षण सुनिश्चित हुनुका साथै भविष्यमा अनुसन्धान, अध्ययन तथा व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास विभागले लिएको छ।
पुरातत्व विभागका अनुसार सन् १९५० को दशकदेखि नेपालका विभिन्न मठ, मन्दिर तथा विहारबाट मूर्ति तथा अन्य पुरातात्त्विक सम्पदा चोरी हुने क्रम तीव्र बनेको थियो। हालसम्म विभिन्न देशबाट २०३ वटा पुरातात्त्विक तथा कलात्मक वस्तु नेपाल फर्किसकेका छन्। तीमध्ये अमेरिकाबाट मात्रै १२७ वटा सम्पदा स्वदेश ल्याइएको विभागले जनाएको छ।
विभागका अनुसार अमेरिका, बेलायत, फ्रान्स, चीन, अष्ट्रिया तथा अष्ट्रेलियामा रहेका अन्य नेपाली सम्पदा फिर्ता ल्याउन कूटनीतिक तथा कानुनी पहल निरन्तर जारी छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले देशको पहिचान विश्वसामु स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सम्पदाको संरक्षण तथा चोरी भएका सम्पदा स्वदेश फिर्ता ल्याउने कार्यमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
