ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका ए, बी र सी डिभिजनमा आबद्ध फुटबल क्लबहरूलाई बधाई तथा सम्मान गर्दै नगद प्रोत्साहन रकम प्रदान गरेको छ।
सम्मान कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर नेपाली फुटबलको उर्वर भूमि भएको उल्लेख गर्दै यहाँका क्लबहरूले राष्ट्रिय फुटबलमा पुर्याएको योगदान गौरवको विषय भएको बताए। उनले खेलकुदमार्फत अनुशासन, स्वास्थ्य र युवाको नेतृत्व विकास हुने भएकाले महानगरले खेल क्षेत्रलाई निरन्तर प्राथमिकतामा राखेको बताए।
मेयर महर्जनले फुटबल क्लबहरूलाई केवल प्रतिस्पर्धामा सीमित नरही नयाँ पुस्ताका खेलाडी उत्पादन, खेल संस्कृतिको विकास तथा अन्तर्राष्ट्रिय स्तरमा ललितपुरको पहिचान स्थापित गर्न सक्रिय रहन आग्रह गरे। महानगरले खेल पूर्वाधार विकास, खेलाडी प्रोत्साहन तथा विभिन्न खेल गतिविधिमा आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष राजु महर्जनले ललितपुरका फुटबल क्लबहरूले लामो समयदेखि राष्ट्रिय फुटबलको विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको उल्लेख गरे। उनले महानगरले खेलकुदलाई सामाजिक विकास, युवा सशक्तीकरण र सकारात्मक ऊर्जा प्रवाह गर्ने माध्यमका रूपमा लिएको बताउँदै क्लबहरूलाई अझ व्यवस्थित, प्रतिस्पर्धी र व्यवसायिक बन्न आग्रह गरे।
उनले महानगरले आगामी दिनमा पनि फुटबलसहित अन्य खेल विधाको विकास, प्रतिभा पहिचान र खेल पूर्वाधार विस्तारका लागि आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा ए, बी र सी डिभिजनमा आबद्ध क्लबहरूलाई सम्मानपत्रसहित नगद प्रोत्साहन रकम प्रदान गरिएको थियो।
ए डिभिजनअन्तर्गत चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, फ्रेन्ड्स क्लब (कुपण्डोल) र जावलाखेल युथ क्लबलाई जनही ४ लाख रुपैयाँ प्रदान गरिएको छ।
त्यसैगरी बी डिभिजनअन्तर्गत खुमलटार युवा क्लब, ब्रिगेड ब्वाइज क्लब र च्यासल युवा क्लबलाई जनही ३ लाख रुपैयाँ उपलब्ध गराइएको छ।
सी डिभिजनअन्तर्गत खालीबारी फुटबल क्लब, झम्सिखेल युथ क्लब, पुल्चोक स्पोर्ट्स क्लब तथा सानेपा क्लबलाई जनही २ लाख रुपैयाँ प्रदान गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले यस किसिमको सम्मान तथा प्रोत्साहनले स्थानीय क्लबहरूको मनोबल उच्च हुने, युवा खेलाडी उत्पादनमा थप टेवा पुग्ने तथा ललितपुरलाई नेपाली फुटबलको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
