
काराकास, असार ११ । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार बेलुकी ३९ सेकेन्डको अन्तरमा ७.२ र ७.५ रेक्टर स्केलका दुई शक्तिशाली भूकम्प गएपछि ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ।
यूएसजीएसका अनुसार पहिलो ७.२ रेक्टर स्केलको भूकम्प गएको ३९ सेकेन्डपछि ७.५ रेक्टर स्केलको अर्को शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी काराकासबाट करिब १६० किलोमिटर पश्चिम क्षेत्रमा रहेको बताइएको छ।
प्रारम्भिक मूल्याङ्कनअनुसार १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढीको ज्यान जान सक्ने सम्भावना ३० प्रतिशत रहेको यूएसजीएसले जनाएको छ। यद्यपि भेनेजुएला सरकारले हालसम्म आधिकारिक रूपमा मृतक तथा घाइतेको संख्या सार्वजनिक गरेको छैन।
भूकम्पका कारण सयौँ भवन तथा संरचना ध्वस्त भएका छन् भने प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन भइरहेको छ। सञ्चार तथा यातायात सेवामा समेत व्यापक असर परेको बताइएको छ।
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा ज्यान गुमाउनेहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सरकार राहत, उद्धार तथा पुनर्स्थापनाको कार्यमा पूर्ण रूपमा केन्द्रित रहेको बताए। उनले मृतकको संख्या नखुलाए पनि क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए।
भूकम्पका कारण काराकास नजिक रहेको मैकेतिया अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेपछि अर्को सूचना जारी नभएसम्म विमानस्थल बन्द गरिएको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान सेवा स्थगित गरिएको राष्ट्रपतिले बताएका छन्।
राष्ट्रपति रोड्रिगेजले देशभर राष्ट्रिय आपतकालीन अवस्था घोषणा गर्दै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई तत्काल अस्पताल पुगेर घाइतेहरूको उपचारमा जुट्न निर्देशन दिएका छन्। उनले विभिन्न मित्रराष्ट्र, विशेषगरी संयुक्त राज्य अमेरिकासहितका देशहरूले समवेदना व्यक्त गर्दै आवश्यक सहयोगको प्रतिबद्धता जनाएको पनि बताए।
भूकम्पपछिको अवस्था अझै स्पष्ट भइनसकेको र क्षतिको वास्तविक विवरण आउन बाँकी रहेकाले अन्तर्राष्ट्रिय समुदायको ध्यान भेनेजुएलातर्फ केन्द्रित भएको छ।
