
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय समितिको नवनिर्वाचित नेतृत्वले शपथ ग्रहण गर्दै औपचारिक रूपमा नयाँ कार्यकालको जिम्मेवारी सम्हालेको छ।
आयोजित विशेष कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष लक्की चौधरीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए। शपथ ग्रहणसँगै नयाँ नेतृत्वले आफ्नो कार्यकालको औपचारिक सुरुवात गरेको हो।
हालै सम्पन्न निर्वाचनबाट प्रशान्त मालीको अध्यक्षतामा १९ सदस्यीय उपत्यका समन्वय समितिको पूर्ण कार्यसमिति गठन भएको छ। कार्यक्रममा फोनिजका केन्द्रीय तथा विभिन्न तहका पदाधिकारी, पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले आदिवासी जनजाति समुदायका भाषा, कला, संस्कृति, पहिचान तथा समुदायका विविध सरोकारका विषयलाई सञ्चार माध्यममार्फत अझ प्रभावकारी र सशक्त रूपमा उठान गर्न नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
उनीहरूले आदिवासी जनजाति पत्रकारहरूको क्षमता विकास, पेशागत सुदृढीकरण तथा सञ्चार क्षेत्रमा समुदायको प्रतिनिधित्वलाई थप मजबुत बनाउन फोनिजको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
नवनिर्वाचित नेतृत्वले संस्थाको उद्देश्यअनुरूप पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत हकहितको संरक्षण तथा आदिवासी जनजाति समुदायका मुद्दा, अधिकार र पहिचानको प्रवर्द्धनमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमसँगै फोनिज उपत्यका समन्वय समिति नयाँ कार्यकालमा प्रवेश गरेको छ। नयाँ नेतृत्वको आगमनसँगै संस्थागत सुदृढीकरण, पत्रकारिता क्षेत्रको विकास तथा आदिवासी जनजाति समुदायका आवाजलाई थप प्रभावकारी रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
