ललितपुर, असार ०४ । पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठ ले पत्रकारहरूको दुःख, मर्म र पेशागत चुनौतीप्रति आफू जानकार र संवेदनशील रहेको बताएका छन्।


नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजन तथा महालक्ष्मी नगरपालिका को सहकार्यमा आयोजित “पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नगर प्रमुख श्रेष्ठले पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गरे।
उनले पत्रकारहरूले सत्य, तथ्य र जनचासोका विषय उजागर गर्न अनेकौं कठिनाइको सामना गरिरहेको बताउँदै स्थानीय सरकार पत्रकारहरूको हित र क्षमता अभिवृद्धिका लागि सदैव सहकार्य गर्न तयार रहेको धारणा राखे।
“पत्रकारहरूको दुःख–मर्म मैले बुझेको छु। सीमित स्रोत–साधनका बीच पनि पत्रकारहरूले समाजलाई सही सूचना प्रवाह गरिरहेका छन्,” उनले भने, “पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण र स्थानीय सम्पदाको प्रचारप्रसारमा पत्रकारहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ।”
नगर प्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको प्रभावकारी प्रचारप्रसारमार्फत पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउन सकिने बताए। उनले स्थानीय तह र सञ्चार क्षेत्रबीचको समन्वयले पर्यटन विकासमा सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पदाधिकारी, सञ्चारकर्मी, जनप्रतिनिधि तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पर्यटन क्षेत्रको प्रवर्द्धन, स्थानीय सम्पदाको संरक्षण तथा पर्यटनमैत्री वातावरण निर्माणमा सञ्चारमाध्यमको भूमिकाबारे आफ्ना धारणा राखेका थिए।
वक्ताहरूले ललितपुर जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पत्रकारिताको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा पर्यटन विकासका सम्भावना, चुनौती र अवसरबारे समेत छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ गर्दै पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए।
कार्यक्रमको समापन गर्दै आयोजकले पर्यटन विकास र स्थानीय पहिचानको प्रवर्द्धनमा पत्रकारिता क्षेत्रको योगदानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।
