काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) डेटा सेन्टरहरूमा मेमोरी चिपको अत्यधिक माग बढ्दै जाँदा अमेरिकामा उपभोक्ता सामानको मूल्य उल्लेखनीय रूपमा बढ्न सक्ने तथा विभिन्न उद्योगका आपूर्ति श्रृंखलामा गम्भीर अवरोध आउन सक्ने चेतावनी उद्योगी संगठनहरूले दिएका छन्।
अमेरिकाका अटोमोबाइल, खुद्रा व्यापार, इलेक्ट्रोनिक्स, दूरसञ्चार तथा चिकित्सा उपकरण क्षेत्रका प्रमुख प्रतिनिधि संस्थाहरूले अमेरिकी अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयलाई संयुक्त पत्र लेख्दै मेमोरी चिप बजारमा देखिएको असन्तुलन तत्काल समाधान नगरे निकट भविष्यमै व्यापक आर्थिक असर देखिन सक्ने बताएका हुन्।
उनीहरूले सरकारलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, “मेमोरी चिप बजारमा देखिएको आपतकालीन असन्तुलनले अमेरिकी उपभोक्ताका लागि आवश्यक वस्तुको मूल्यमा उल्लेखनीय र दीर्घकालीन वृद्धि ल्याउन सक्छ तथा महत्वपूर्ण अमेरिकी आपूर्ति श्रृंखलामा अवरोध सिर्जना गर्न सक्छ।”
एआई डेटा सेन्टरले खपत गरिरहेको छ ठूलो हिस्सा
उद्योगी समूहहरूका अनुसार एआई प्रविधिको तीव्र विस्तारसँगै डेटा सेन्टरहरूले उपलब्ध मेमोरी चिप उत्पादन क्षमताको ठूलो हिस्सा उपभोग गर्न थालेका छन्। यसका कारण मेमोरी चिपको मूल्य अभूतपूर्व रूपमा बढ्नुका साथै उपभोक्ता केन्द्रित उद्योग र उत्पादन क्षेत्रका लागि आवश्यक चिपको उपलब्धता घट्दै गएको छ।
समूहहरूले चेतावनी दिँदै भनेका छन्, “यी प्रवृत्तिको प्रभाव बजारमा देखिन थालिसकेको छ। समयमै समाधान नभए स्थिति अझ गम्भीर बन्न सक्छ।”
गाडीदेखि मेडिकल उपकरणसम्म असर
पत्रमा हस्ताक्षर गर्ने संस्थाहरूमा एलायन्स फर अटोमोटिभ इनोभेसन, नेशनल रिटेल फेडेरेसन, मेडिकल डिभाइस म्यानुफ्याक्चरर्स एसोसिएसन, इन्टरनेट एण्ड टेलिभिजन एसोसिएसन (एनसीटीए) तथा टेलिकम्युनिकेसन्स इन्डस्ट्री एसोसिएसन लगायत रहेका छन्।
उनीहरूका अनुसार मेमोरी चिप अभावका कारण दैनिक प्रयोग हुने इलेक्ट्रोनिक तथा सूचना प्रविधिसम्बन्धी उत्पादनको मूल्य बढ्न थालेको छ। साथै इन्टरनेट तथा दूरसञ्चार पूर्वाधार निर्माण, मर्मत तथा स्तरोन्नतिका परियोजनाहरूको लागत पनि बढ्दै गएको छ।
यस्तै अटोमोबाइल, चिकित्सा उपकरण तथा अन्य उत्पादनमूलक उद्योगको उत्पादन र आपूर्तिमा समेत जोखिम बढेको उनीहरूको भनाइ छ।
उत्पादन विस्तारमा अर्बौं डलर लगानी
मेमोरी चिप अभावको समस्या समाधान गर्न अमेरिकी सरकारले घरेलु उत्पादन वृद्धि गर्ने उद्देश्यले अर्बौं डलर बराबरको अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। सो कार्यक्रमअन्तर्गत माइक्रोनलगायत प्रमुख चिप उत्पादक कम्पनीहरूले उत्पादन क्षमता विस्तार गरिरहेका छन्।
तर उद्योगी समूहहरूका अनुसार एआई क्षेत्रबाट बढ्दो मागका कारण हालको उत्पादन क्षमता पर्याप्त हुन सकेको छैन। उनीहरूले सरकारलाई चिप आपूर्ति सन्तुलित बनाउन तथा उपभोक्ता र उत्पादनमूलक उद्योगलाई आवश्यक आपूर्ति सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
अटो उद्योगमा बढ्न सक्छ लागत
विशेषगरी आधुनिक सवारीसाधनमा प्रयोग हुने इन्फोटेनमेन्ट प्रणाली, सुरक्षा प्रविधि, सेन्सर तथा कनेक्टेड फिचरहरू मेमोरी चिपमा अत्यधिक निर्भर रहने भएकाले यो संकट लम्बिएमा अटोमोबाइल उद्योग प्रत्यक्ष प्रभावित हुने विश्लेषण गरिएको छ।
विश्लेषकहरूका अनुसार चिप अभाव कायम रहे उत्पादन लागत बढ्ने, गाडी निर्माणमा ढिलाइ हुने तथा अन्ततः सवारीसाधनको मूल्यसमेत बढ्न सक्ने सम्भावना छ। यसले विश्वव्यापी अटो उद्योगलाई पुनः आपूर्ति संकटतर्फ धकेल्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
