
ललितपुर, असार ३१। ललितपुर महानगरपालिका वडा नं. ०५ को आयोजनामा “वडा दर्पण” स्मारिका विमोचन, वडा भेला तथा सम्मान कार्यक्रम–२०८३ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा विशेष अतिथिका रूपमा उपप्रमुख मञ्जली शाक्य वज्राचार्य को विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको अध्यक्षता ललितपुर महानगरपालिका वडा नं. ०५ का वडा अध्यक्ष बिकासमान श्रेष्ठ ले गर्नुभएको थियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा वडा नं. ०५ द्वारा प्रकाशित “वडा दर्पण” स्मारिकाको विमोचन गरिएको थियो। स्मारिकामा वडाको विकास निर्माण, सामाजिक गतिविधि, सांस्कृतिक सम्पदा, ऐतिहासिक महत्व तथा आगामी योजनाहरू समेटिएको जानकारी दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चिरीबाबु महर्जनले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले विकास, सुशासन र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन महानगर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले वडा स्तरमा भएका सकारात्मक गतिविधि र उपलब्धिहरूलाई दस्तावेजीकरण गर्दै स्मारिका प्रकाशन गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो।
विशेष अतिथि मञ्जली शाक्य वज्राचार्यले वडा स्तरमा महिला, युवा तथा समुदायको सहभागितामूलक विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै वडा दर्पण स्मारिकाले स्थानीय पहिचान, संस्कृति र विकास यात्रालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो।
वडा अध्यक्ष बिकासमान श्रेष्ठले वडाले हालसम्म गरेका विकास निर्माणका कार्य, सामाजिक तथा सांस्कृतिक संरक्षणका प्रयास र आगामी योजनाबारे जानकारी गराउँदै वडावासीको सक्रिय सहयोगले मात्रै समृद्ध वडा निर्माण सम्भव हुने बताउनुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रबाट समाज, शिक्षा, संस्कृति, खेलकुद, स्वास्थ्य, सामाजिक सेवा तथा सामुदायिक विकासमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।
वडा भेला अन्तर्गत सहभागीहरूले वडाको विकास, सेवा प्रवाह, पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा सामुदायिक हितसँग सम्बन्धित विविध विषयमा सुझाव तथा धारणा राखेका थिए। सहभागीका सुझावलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेटिने वडा कार्यालयले जनाएको छ।
स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा वडावासीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले वडा नं. ०५ को विकास, पारदर्शिता र जनसहभागितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

