समयसँगै हराउँदै गएको ‘सलाखी प्रचलन’ : मरु गणेशका गम्भीर ध्वज जोशीको पुरानो पैसासँग ६ दशक लामो सम्बन्ध

काठमाडौ/ ४ जेठ :
काठमाडौंको पुरानो बस्ती मरु इलाछे। साँघुरा गल्ली, परम्परागत घरहरू र इतिहास बोकेका चोकबीच एउटा सानो पसल विगत लामो समयको साक्षी बनेर उभिएको छ। त्यो पसलमा दिनहुँ नयाँ नोटको कारोबार हुँदैन, न त डिजिटल वालेटको चर्चा। यहाँ अझै पनि पुराना सिक्का, इतिहास बोकेका मुद्रा र विगतका सम्झनाहरू साटिन्छन्।
यही पसलका मालिक हुन् ६० वर्षे गम्भीर ध्वज जोशी।
उनको जीवन पुरानो पैसासँग मात्रै होइन, काठमाडौंको सांस्कृतिक स्मृतिसँग पनि गाँसिएको छ।
“मेरो नाम गम्भीर ध्वज जोशी हो। मेरो घर पहिलादेखि नै यही मरु इलाछेमा थियो। जन्मेको, खेलेको, हुर्केको यही हो,” उनी आफ्नो पुरानो काठको दराजमा राखिएका सिक्काहरू मिलाउँदै भन्छन्।
उनको परिवारले पुस्तौंदेखि यही काम गर्दै आएको हो।
“हाम्रो बुवाले यही काम गर्नुहुन्थ्यो। बुवासँगै लागेर काम सिकियो। बुबा बितेपछि मैले सम्हालेर चलाइरहेको छु,” उनी भन्छन्, “यो ठाउँको सबैभन्दा पुरानो पसल यही एउटा मात्रै बाँकी छ।”
नेवारी भाषामा पुरानो पैसा साट्ने कामलाई ‘सलाखी’ भनिन्छ। यही पुरानो सलाखी पेशा
आज धेरैलाई थाहा छैन। आधुनिक जीवनशैली, अत्याधुनिक वैङ्किङ्ग प्रणालीको कारण अहिले काठमाडौंमा ‘सलाखी’ प्रचलन हटिसकेको छ।
गम्भीर ध्वजका अनुसार, त्यो समय बैंकहरूको पहुँच थिएन। विदेश, विशेष गरी लाहुरबाट फर्किनेहरू भारतीय मुद्रा बोकेर आउँथे र यिनै सलाखी पसलमा नेपाली पैसा साट्थे।
“पहिला लाहुरेहरू भारतीय पैसा लिएर आउँथे। हामी बैंकबाट पैसा साटेर एक आना नाफा राखेर दिन्थ्यौँ,” उनी सम्झिन्छन्।
पछि सरकारले नै भारतीय मुद्रा सटहीको जिम्मा लिन थालेपछि उनीहरूको व्यवसायको स्वरूप बदलियो। त्यसपछि उनीहरूले पूजा–आजामा चाहिने सिक्का, पुराना मुद्रा र दुर्लभ पैसा संकलन तथा साट्ने कामलाई निरन्तरता दिए।
“६० वर्षभन्दा बढी भयो यो काम गरेको,” उनी गर्वका साथ भन्छन्।
सिक्कामा झल्किने नेपालको इतिहास
गम्भीर ध्वजका लागि पुरानो पैसा व्यापार मात्रै होइन, इतिहासको जीवित अभिलेख पनि हो।
उनी भन्छन्, “पहिला पञ्चायतको पालामा धेरै किसिमका पैसा छापिन्थे। राजाहरूको शासन हुँदा फरकफरक डिजाइन आउँथे। अहिले त्यो हराउँदै गयो।”
उनका अनुसार मल्लकालमा काठमाडौं, भक्तपुर र पाटनबीच राम्रो मुद्रा निकाल्ने प्रतिस्पर्धा नै हुन्थ्यो। सिक्कामा धार्मिक यन्त्र, देवीदेवता, रानी र विभिन्न सांस्कृतिक प्रतीक अंकित गरिन्थे।
“नेपाल सानो भए पनि इतिहास जोगाउने इमानदारी थियो,” उनी भन्छन्, “सानोभन्दा सानो पैसामा पनि टक राखेर नाम लेखिन्थ्यो।”
उनी विरेन्द्र शाहको शासनकाललाई विशेष रूपमा सम्झिन्छन्।
“उत्सवअनुसार हरेक वर्ष फरकफरक पैसा छापिन्थ्यो। अहिले त्यो चलन नै हरायो,” उनी भन्छन्।
‘एक दाम’को कथा
गम्भीर ध्वजसँग पुरानो पैसासँग जोडिएका अनेक कथा छन्। तीमध्ये एउटा कथा उनी विशेष उत्साहका साथ सुनाउँछन्।
“पहिला एक दामको पनि ठूलो महत्त्व हुन्थ्यो,” उनी भन्छन्, “चार दामको एक पैसा हुन्थ्यो।”
काष्ठमण्डपमा हुने वार्षिक पूजाको प्रसंग सम्झिँदै उनी भन्छन्, “माथि टुप्पोमा पुगेर झण्डा गाड्नेले एक दाम पारिश्रमिक पाउँथ्यो। तल बाजा बजाउनेले मुरीमुरी धान पाउँथे। त्यति सानो पैसाको पनि मूल्य थियो।”
उनका अनुसार त्यो समय पैसाले केवल कारोबार होइन, सामाजिक सम्मान र इतिहास पनि बोकेको हुन्थ्यो।
हराउँदै गएको सिक्का संस्कृतिको चिन्ता
समयसँगै सिक्काको महत्व घट्दै गएको देख्दा गम्भीर ध्वज चिन्तित छन्।
डिजिटल भुक्तानी, कागजी नोट र आधुनिक बैंकिङले पुरानो मुद्रा संस्कृतिलाई ओझेलमा पारेको उनी बताउँछन्।
“पहिलाजस्तो राम्रो सिक्का आउन छोड्यो। पुरानो सिक्काको चलन हराउँदै गयो,” उनी भन्छन्।
उनी सम्झन्छन्, “हरेक वर्ष लक्ष्मी पूजाको दिन नयाँ पैसा चलाउने चलन थियो। अहिले सबै हट्दै गयो।”
उनका अनुसार पुराना मुद्रा संकलन गर्ने बानी हराउँदै जाँदा नेपालको आर्थिक र सांस्कृतिक इतिहास पनि हराउने खतरा बढेको छ।
“पुरानापुराना पैसा संकलन गर्न छोडियो भने इतिहास नै लोप हुँदै जान्छ,” उनी भन्छन्।
पुस्तासँगै हराउँदै गएको पेशा
गम्भीर ध्वजलाई सबैभन्दा ठूलो चिन्ता आफ्नो पुस्तापछि यो पेशा कसले जोगाउने भन्ने छ।
“सानैदेखि काम गरेको भएर मलाई रहर भयो,” उनी भन्छन्, “मैले गर्न छोडेपछि कसैले गर्दैन। अरूलाई यस्तो सोख हुँदैन।”
उनका लागि यो व्यापारभन्दा बढी पितापुर्खाको चिनारी जोगाउने दायित्व हो।
“पितापुर्खाको नाम राख्नुपर्छ भनेर काम गरेको हो,” उनी भावुक हुँदै भन्छन्।
मरु गणेशको त्यो सानो पसलमा राखिएका पुराना सिक्काहरू केवल धातुका टुक्रा होइनन्। ती काठमाडौंको स्मृति हुन्, नेपालको आर्थिक इतिहास हुन्, र एक यस्तो पुस्ताको कथा हुन् जसले सानोभन्दा सानो पैसामा पनि संस्कृति, इमानदारी र पहिचान देख्थ्यो।—-

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

ललितपुर — यल नेवाः समाज ललितपुर जिल्लाले गुठी संस्थानको संरक्षण तथा जिम्मामा रहेको ऐतिहासिक एवं पुरातात्त्विक महत्वको रातो मछिन्द्रनाथ रथमा प्रयोग हुने तामाको “हितिमंग” हराएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काठमाडौंको पुरानो बस्तीमा पसलका साना दरा इतिहास बोकेको सिक्का व्यापार : पुस्तौंदेखिको पेशा संकटमा काठमाडौ/ ४ जेष्ठ:काठमाडौंको पुरानो बस्तीमा पसलका साना दराजभित्र थुप्रिएका पुराना सिक्का, तामाका मुद्रा, चाँदीका टक र समयले खियाएका नोटहरू केवल व्यापारका सामग्री होइनन्, ती इतिहासका जीवित दस्तावेज हुन्। तर यही इतिहास बोकेको व्यवसाय अहिले अस्तित्व जोगाउने संघर्षमा छ।पुराना सिक्का तथा मुद्रा कारोबार गर्दै आएका अनिलराज राजबहाक श्रेष्ठ आफ्नो पुर्खादेखिको पेशा अहिले संकटमा पर्दै गएको बताउँछन्। उनी भन्छन्, “मेरो बाजेदेखिको यो पेशा हो। म आफू १५/१६ वर्षको उमेरदेखि यो पेशामा प्रवेश गरेको हुँ। तर मेरो कार्यकालपछि सन्ततिले यो काम गर्ला जस्तो लाग्दैन।”उनका अनुसार पहिले यो व्यवसाय अहिलेको जस्तो केवल संग्रह वा पर्यटनसँग मात्र जोडिएको थिएन। भारतबाट आउने लाहुरेहरूका लागि पैसाको सट्टापट्टा गर्ने, धितो राखेर ऋण दिने जस्ता कारोबार हुने गर्थे। “त्यो बेला यो मिनी बैंकजस्तै थियो,” उनी सम्झिन्छन्।समयसँगै विदेशी पर्यटकहरूको आगमन बढेपछि पुराना सिक्काप्रतिको आकर्षण पनि बढ्न थाल्यो। विशेष गरी ऐतिहासिक तथा धार्मिक आकृति कुँदिएका सिक्का विदेशी पर्यटक र संग्रहकर्ताले रुचिपूर्वक किन्ने गरेका छन्। “तान्त्रिक र लक्ष्मीको चित्र राखेर बनाइएका सिक्काले पाँच–छ सय वर्ष पुरानो इतिहास झल्काउँछ,” श्रेष्ठ भन्छन्, “डिजाइन हेरेरै पर्यटकहरूले चासो देखाउँछन्।”उनका अनुसार सिक्का केवल धातुका टुक्रा होइनन्, ती सभ्यता र संस्कृतिका प्रतीक हुन्। “लक्ष्मी पूजा गर्ने हाम्रो परम्परा छ। हिन्दु र बुद्ध धर्ममा सिक्काको धेरै ठूलो महत्त्व छ,” उनी भन्छन्, “पुरानो पैसा हस्तान्तरण हुँदै आउँदा इतिहास जीवन्त हुन्छ। पैसाले सभ्यता, संस्कृति र पुरानो इतिहास चिनाउँछ।”तर यही इतिहास संरक्षण गर्ने पेशा अहिले कानुनी जटिलता र पुस्तान्तरणको अभावका कारण धरापमा परेको उनी बताउँछन्। नेपालमा १०० वर्षभन्दा पुराना सिक्काको कारोबार गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै श्रेष्ठ भन्छन्, “कानूनले ध्यान दिएन भने यो पेशा संकटमा पर्दै जान्छ।”उनको परिवारमै पनि यो पेशा निरन्तरता दिने अवस्था देखिँदैन। “तीन जना दाजुभाइ र तीन जना दिदीबहिनीमध्ये मैले मात्रै यो काम गरेको हुँ। अरू सबै आ–आफ्नो पेशामा लागिसके,” उनी भन्छन्। उनका छोराछोरीले समेत यो पेशालाई झन्झटिलो र असुरक्षित ठानेर अन्य क्षेत्रमा लागेको उनको भनाइ छ।“यो सधैं चल्ने ठूलो व्यवसाय होइन,” श्रेष्ठ स्वीकार्छन्, “तर यसमा इतिहास छ।”पुरानो मुद्रा कारोबारमा अहिले बिचौलियाको प्रभाव पनि बढेको उनी बताउँछन्। “यो ठाउँमा हामी दुई जनामात्रै यो कारोबार गर्छौं, तर बीचमा बसेर नाफा खाने धेरै बिचौलिया छन्,” उनी गुनासो गर्छन्।उनका अनुसार दुर्लभ सिक्काको संरक्षणसँगै व्यवस्थित कारोबारका लागि सरकारले स्पष्ट नीति र व्यवस्थापन गर्न आवश्यक छ। “दुर्लभ पैसाको संरक्षण र इतिहासको जीवन्तताका लागि सरकारले कानून बनाएर उचित व्यवस्थापन गर्ने हो भने ठीक होला,” उनी भन्छन्, “नत्र यो पेशा लोप हुने अवस्थामा पुग्छ।”सहरको पुरानो गल्लीमा बसेर इतिहास बोकेका सिक्कालाई जोगाइरहेका अनिलराज राजबहाक श्रेष्ठजस्ता व्यवसायीहरूका लागि अहिले सबैभन्दा ठूलो चिन्ता व्यापारभन्दा पनि परम्पराको अन्त्य हो। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको ज्ञान र इतिहास अब नयाँ पुस्तासम्म पुग्ने कि नपुग्ने भन्ने प्रश्न उनीहरूको मनमा गहिरिँदै गएको छ।—–

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts