
समाजका अनुसार ९ फिट लामो र १५ इन्च चौडाइ भएको उक्त तामाको हितिमंग रातो मछिन्द्रनाथ रथको धमाको दायाँ–बायाँ भागमा प्रयोग हुने महत्वपूर्ण सांस्कृतिक सम्पदा हो। उक्त वस्तु हराउनु सम्पूर्ण नेवार समुदाय तथा धार्मिक–सांस्कृतिक सम्पदामाथिको गम्भीर आघात भएको समाजले उल्लेख गरेको छ।



यल नेवाः समाजले गुठी संस्थान शाखा कार्यालय, ललितपुर तथा सम्बन्धित जिम्मेवार कर्मचारीहरूको लापरवाही, गैरजिम्मेवारी र सम्भावित मिलेमतोका कारण यस्तो घटना भएको आशंका व्यक्त गरेको छ। समाजका अनुसार मछिन्द्रनाथ जात्रा सुरु हुँदादेखि नै उक्त हितिमंग रथमा नरहेको देखिएपछि जानकारी माग्दा गुठी संस्थानका कर्मचारीहरूले स्पष्ट जवाफ नदिएको, कहिले “मर्मतका लागि पठाइएको” भन्ने जवाफ दिएको र पछि हराएको जानकारी सार्वजनिक भएको बताइएको छ।



समाजले यस घटनालाई राष्ट्रिय सम्पदा संरक्षणसम्बन्धी कानुनको उल्लंघन तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको स्पष्ट उदाहरणका रूपमा व्याख्या गरेको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, हराएको ऐतिहासिक सम्पदा तत्काल खोजी गर्न तथा सम्पदाको सुरक्षा, अभिलेखीकरण र नियमित निगरानीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेको छ।

यल नेवाः समाज ललितपुर जिल्लामा रहेका विभिन्न २१ जातजातिको संस्थागत सहभागितामा संस्कृति, सम्पदा संरक्षण र समुदायको हकहितका लागि क्रियाशील सामाजिक संस्था हो, जुन जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता रहेको छ।
